सर्लाही, २२ माघ । आसन्न प्रतिनिधिसभाको चुनावमा मधेश प्रदेशबाट मात्र ५८ जना जेन–जी समूहका उम्मेदवार सहभागी भएका छन् । ती मध्ये दुईजना महिला र ५६ जना पुरुष रहेका छन् ।

निर्वाचन आयोगको तथ्यांक अनुसार मधेश प्रदेशमा प्रतिस्पर्धामा उत्रेका जेन– जीमध्ये ४१ जना स्वतन्त्र र १२ राजनीतिक दलका छन् ।

पूर्वमन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले सिरहा–३ मा २६ वर्षीय श्रवण पासवान, महोत्तरी–१ मा २८ वर्षीय मनोज कुमार गुप्ता र रौतहट २ मा २५ वर्षीय रामाकान्त प्रसाद पटेल सहित तीन जेन–जीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै सीके राउतको जनमत पार्टीले महोत्तरी–१ मा २७ वर्षीय विरेन्द्र महतो, रौतहट २ मा २८ वर्षीय सोनु कुशवाहा र रौतहट ४ मा २८ वर्षीय राम कल्याण राउतलाई उम्मेदवार बनाएको छ ।

धरानका पूर्व मेयर हर्क साम्पाङको श्रम संस्कृति पार्टीले सिरहा ४ मा २६ वर्षीय पंकज कुमार ठाकुर र पर्सा १ मा २८ वर्षीय वसिम शेषलाई उम्मेदवार बनाएको हो ।

यसअघिका हरेक चुनावमा पुराना दलबाट उही अनुहार दोहोरिने गरेकोमा यसपाली त्यो क्रम केहीहदसम्म टुटेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

“युवाहरुमा राजनीतिप्रति चरम निराशा पैदा भएको थियो । तर यसपालीको निर्वाचनमा दलहरुले युवाहरुको महत्व केही हदसम्म बुझ्न खोजेको देखिन्छ ।

यसपटक मधेशमा जेन जी युवाको उम्मेदवारीले नयाँ उत्साह पैदा गरेको राजनीतिक विश्लेषक डा. सुशिल यादवले बताए । नयाँ दलको तुलनामा पुराना दलबाट भने जेन जी युवा उम्मेदवारको संख्या न्युन छ ।

एमालेले पूर्वसांसद शिवपुजन यादवको छोरा २७ वर्षीय अमनिश कुमार यादवलाई सर्लाही ४ मा उम्मेदवार बनाएको छ ।

यो क्षेत्रबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता अमरेश सिंह लगायतका उम्मेदवार छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी–२ मा २७ वर्षीय अजय कुमार दास, नेपाल मजदुर किसान पार्टीले सप्तरी २ मा निलम कुमारी यादवलाई खडा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले २८ वर्षीय बब्लु गुप्तालाई सिरहा १ मा अघि सारको छ ।

उम्मेदवार हुनुअघि उनी युवा तथा खेलकुद मन्त्री थिए । चुनाव लड्न उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले बारा–४ मा २७ वर्षीय अजय कुशवाहालाई उठाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले सप्तरी–२ मा २७ वर्षीय अजय कुमार दास, नेपाल मजदुर किसान पार्टीले सप्तरी २ मा नीलमकुमारी यादवलाई उम्मेदवार बनाएको छ ।

युवा अभियन्ता दिनेश साह २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनले ल्याएको परिवर्तनका कारण मधेश प्रदेशबाट उल्लेख्य संख्यामा जेन–जी युवा उम्मेदवार बन्न सफल भएको बताउँछन् ।

उनी भन्छन् –‘विगतमा तिमीहरुको उमेर पुगेको छैन, तिमीहरुको उमेर बाँकी नै छ, पालो आइहाल्छ भन्ने गरिन्थ्यो । तर, यसपाली यूवालाई पनि प्राथमिकता दिन थालिएको छ ।

यो परिवर्तन जेन–जी आन्दोलन ल्याएको हो ।’ अर्का युवा अभियन्ता बलिराम साह उम्मेदवार छनौट गर्दा यसपाली ‘जसको सवाल, उसको नेतृत्वको बहस’ केही हदसम्म सार्थक भएको बताउँछन्।

साह थप्छन् – ‘प्रतिनिधि सभा निर्वाचनमा जेन जी प्रतिनिधि निर्वाचित भए भने युवाको आवाजले संसदमा स्थान पाउनेछ ।’ हुन पनि राजनीतिक दल र स्वतन्त्र रुपमा उम्मेदवार भएका जेन–जी युवाले आगामी चुनावमा सुशासन र विकासलाई नै मुख्य मुद्दाको रुपमा अघि सारेका छन् ।

मन्त्री पदबाट राजिनामा दिएर रास्वपाबाट सिरहा –१ मा उम्मेदवार बनेका ब्लु गुप्ता भन्छन् – ‘नयाँ युगको नेतृत्व युवाले गर्न सक्ने भएकोले उनीहरुको बढी भन्दा बढी प्रतिनिधित्व संसदमा हुनुपर्छ भनेर नै म चुनावमा होमिएको हुँ ।

यसपाली जेन जी युवा उम्मेदवारको संख्या धेरै भएकोले संसदमा उनीहरुको प्रतिनिधित्व पनि बढी हुनेछ । त्यसले देशलाई परिवर्तनको आभास दिलाउनेछ ।’

जनमत पार्टीबाट महोत्तरी क्षेत्र नम्बर– १ मा उम्मेदवार भएका २७ वर्षीय विरेन्द्र महतो पुराना नेताको कुशासनको कारणले जनताले अहिले पनि विकास र समृद्धिको अनुभुति गर्न नसकेको बताउँछन् ।

उनी थप्छन् –‘हामी, कुशासनको खिलाप अनि सुशासन र विकासको अजेण्डा लिएर चुनावमा होमिएका छौं ।’ महोत्तरी क्षेत्र नम्बर–१ बाट उम्मेदवारी दर्ता गराउँदै वीरेन्द्र महतो ।

सर्लाही ४ का एमाले उम्मेदवार २७ वर्षीय अमनिशकुमार यादव यसपटक मधेशमा दल र स्वतन्त्रबाट प्रतिस्पर्धामा उत्रेका उम्मेदवारमा जेन–जीको संख्या उल्लेख्य भएकोले त्यसले मतदातामा नयाँ आशा जगाएको बताउँछन् ।

‘युवाले सडकबाट सरकार परिवर्तन गर्न सक्छन् भने सदनबाट पनि जनताको जीवन बदल्न सक्छन्।’ उनी भन्छन् ‘दलहरुले अब युवालाई नेतृत्व दिनु पर्छ अनि उनीहरुले काम गरेर देखाउने अवसर पाउनेछन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *