सर्लाही, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन)ले चुनावी दौडलाई तीव्र बनाएका छन् ।

सोमबार मात्र आफ्नो निर्वाचन क्षेत्र झापा ५ पुगेका उनी बुधबार मोरङ, सुनसरी र उदयपुर पुगेका हुन् । बालेनले ती जिल्लाका निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार तथा पार्टी कार्यकर्ता, समर्थक र मतदातासँग भेटघाट गरे ।

एमाले अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धा गर्ने गरी उम्मेदवारी दिएका बालेन पश्चिम नेपालको भ्रमणपछि झापा आएका थिए । उनले मंगलबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा पुगेर यहाँका सुकुमवासी, आदिवासीललगायत मतदातालाई भेटेका थिए । 

मंगलबार मोरङको उर्लाबारी पुगेका उनी बुधबार बिहानै पथरीशनिश्चरे, लेटाङ, डाइनिया हुँदै विराटनगर पुगे । त्यस्तै, सुनसरीको दुहबी, इटहरी, इनरुवा हुँदै बराहाक्षेत्र पुगे । बालेनले सप्तकोशी नदीमा रहेका किराँत समुदायको सांस्कृतिक स्थल ‘खुवालुङ’मा पुगेर दर्शन गरेका थिए ।

खुवालुङ सप्तकोशी नदीमा रहेको एउटा ढुंगा हो, जसलाई किराँत समुदायले आस्थाको केन्द्रका रूपमा मान्दै आएको छ । जेटबोट चलाउन सरकारले खुवालुङ भत्काउने तयारी गर्दा किराँत समुदायले विरोध गरेपछि केही वर्षअघि चर्चामा आएको स्थान हो । 

खुवालुङ पुगेपछि बालेनले यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन् ।

‘खुवालुङ सप्तकोशी क्षेत्रमा अवस्थित किराँती तथा नेपालीका लागि पवित्र स्थल हो, जसलाई मुन्धुममा ‘सभ्यताको द्वार’ मानिन्छ । मुन्धुम पाठ र जीवनचक्र संस्कारहरूमा यसको अनिवार्य स्मरण हुने भएकाले यो जीवित सांस्कृतिक–आध्यात्मिक परम्पराको प्रतीक हो,’ उनले लेखेका छन्, ‘यसले किराँती सभ्यता, आदिवासी पहिचान र मानव–प्रकृति सम्बन्ध झल्काउँदै इतिहास, धर्म र संस्कृतिको सामूहिक प्रतिनिधित्व गर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *