सर्लाही, २३ माघ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिकामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी (HPV) खोप अभियान सम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ ।

गाउँपालिकाको सभाहलमा हिजाे (विहिबार) आयोजित गोष्ठीमा स्वास्थ्यकर्मी तथा खोप कार्यकर्तालाई खोप अभियान सञ्चालन प्रक्रियाबारे जानकारी गराइएको हो ।

ब्रह्मपुरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा राष्ट्रिय खोप अभियान अन्तर्गत पालिकास्तरीय सरोकारवालासँग विद्यालय केन्द्रित एचपीभी खोप अभियानबारे अन्तरक्रिया तथा गोष्ठी कार्यक्रम गरिएको हो ।

गोष्ठीमा माघ २५ गतेदेखि कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका किशोरीहरूलाई आधारभूत तथा संस्थागत विद्यालयमार्फत खोप प्रदान गरिने जानकारी दिइएको छ ।

गाउँपालिका प्रमुख रामपदारथ साहको अध्यक्षतामा सम्पन्न गोष्ठीमा माघ २५ गतेबाट सुरु हुने खोप अभियानको प्रभावकारी कार्यान्वयनबारे छलफल गरिएको थियो ।

महिलाहरूमा बढ्दै गएको पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि बालिकाहरूलाई प्रारम्भिक चरणमै खोप लगाउने उद्देश्यले अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपेन्द्र राउतले जानकारी दिनुभयो ।

उहाँले कक्षा ६ मा अध्ययनरत छात्रासँगै विद्यालय बाहिर रहेका १० वर्ष उमेर समूहका बालिकालाई पनि खोप दिइने स्पष्ट पार्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धनन्जय प्रसाद दासले कुनै पनि बालिका खोपको पहुँचबाट नछुटुन् भन्ने लक्ष्यसहित स्वास्थ्य शाखाले काम गरिरहेको बताउनुभयो ।

उहाँले खोप अभियानलाई सफल बनाउन सरोकारवाला सबैको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै गाउँपालिकाका सातै वडाध्यक्षलाई आ–आफ्नो वडामा आवश्यक समन्वय गर्न आग्रह गर्नुभयो ।

स्वास्थ्य शाखाका सहसंयोजक विवेक शाहले प्रस्तुत गरेको तथ्यांकअनुसार महिलामा देखिने २०० भन्दा बढी प्रजातिका क्यान्सरमध्ये १२ प्रजाति एचपीभी भाइरसका कारण हुने र १६ तथा १८ नम्बरका प्रजाति सबैभन्दा घातक हुने गरेका छन् ।

उहाँका अनुसार नेपालमा औसतमा दैनिक चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको छ ।

पटक–पटक एचपीभी संक्रमण २० वर्षसम्म रहिरहेमा क्यान्सरको सम्भावना अत्यधिक बढ्ने तथ्यांकले देखाएको छ ।

गोष्ठीले खोप अभियानबारे सरोकारवालामा स्पष्टता बढाउनुका साथै अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *