सर्लाही, २५ माघ । मलेसिया भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गरेपछि संयुक्त पत्रकार सम्मेलन गरेका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोदीले दुई देशबीचको सम्बन्धलाई विस्तार गर्न भारतले मलेसियामा नयाँ वाणिज्य दूतावास खोल्ने बताए ।

प्रधानमन्त्री मोदीले भने ,’भारत र मलेसिया बीचको सम्बन्ध धेरै विशेष छ । हामी समुद्री छिमेकी हौं । शताब्दीयौंदेखि हाम्रा जनता बीच गहिरो र सौहार्दपूर्ण सम्बन्ध रहेको छ ।

आज,मलेसिया भारतीय मूलको जनसंख्या भएको विश्वको दोस्रो ठूलो देश हो। पछिल्ला केही वर्षहरूमा,हाम्रो सम्बन्धले नयाँ गति लिएको छ र मेरा मित्र प्रधानमन्त्री अनवर इब्राहिमले यसमा विशेष योगदान दिएका छन् । ऊर्जा, पूर्वाधार र निर्माणमा हाम्रो सहयोग धेरै बलियो भएको छ ।’

प्रधानमन्त्री मोदीले डिजिटल अर्थतन्त्र,बायोटेक र आईटीमा पारस्परिक लगानी बढेको र यी उपलब्धिहरूबाट प्रेरित भएर दुई देशबीचको साझेदारीमा अभूतपूर्व गति र गहिराइ ल्याउने निर्णय गरिएको बताए ।

‘सुरक्षा क्षेत्रमा, हामी आतंकवाद विरोधी, गुप्तचर साझेदारी र समुद्री सुरक्षामा सहयोगलाई सुदृढ गर्नेछौं। हामी रक्षा सहयोगलाई पनि फराकिलो बनाउनेछौं ।

एआई र डिजिटल प्रविधिहरूसँगै, हामी अर्धचालक, स्वास्थ्य र खाद्य सुरक्षामा साझेदारीलाई अगाडि बढाउनेछौं,उनले भने ।’

प्रधानमन्त्री मोदीले  मलेसियामा भारतीय कामदारहरूको सुरक्षा गर्न सामाजिक सुरक्षा सम्झौता,पर्यटनको लागि नि:शुल्क ई-भिसा र मलेसियामा डिजिटल इन्टरफेस UPI को कार्यान्वयनले दुवै देशका नागरिकहरूको जीवनलाई सरल बनाउने विश्वास व्यक्त गरे।

मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले भारत र मलेसियाले व्यापार, लगानी, कनेक्टिभिटी र रक्षाका क्षेत्रमा सहयोग विस्तार गर्न जारी राख्ने बताए ।

‘पर्यटन र कनेक्टिभिटी ती क्षेत्रहरू हुन् जसमा हामीले बढी ध्यान केन्द्रित गर्नुपर्नेछ । हामीले गत वर्ष उल्लेखनीय वृद्धि देखेका छौं, भिसा नियमहरू खुकुलो पारेर र हवाई कनेक्टिभिटी बढाएर हामी थप लाभ उठाउने आशा राख्छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *