सर्लाही, २५ माघ । सामाजिक सुरक्षा भत्ता कार्यक्रमबाट २० लाखभन्दा बढी ज्येष्ठ नागरिक लाभान्वित भइरहेका छन् । 

आईतबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सामाजिक विकास मन्त्रालयकी सचिव राधिका अर्यालले सामाजिक सुरक्षा भत्तासम्बन्धी तथ्यांक जानकारी गराएकी हुन् ।

देशभर २० लाख नौ हजार १६९ जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता बुझिरहेको अर्यालले बताइन् । 

ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन थप विशेष व्यवस्था आवश्यक रहेको विषयमा जरुरी सार्वजनिक महत्त्वको प्रश्तावमाथि छलफलमा बोल्दै उनले सरकारले ज्येष्ठ नागरिकलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताइन् । 

त्यस्तै, ७० वर्षभन्दा माथिका मात्रै १६ लाख ६० हजार ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाइरहेको उनले जानकारी दिइन् ।

साथै ६० वर्ष पूरा गरेका एक लाख ६१ हजार दलित ज्येष्ठ नागरिक, एक लाख ७१ हजार एकल महिला र तोकिएको क्षेत्रमा ६० वर्ष पूरा गरेका १७ हजार १६९ ज्येष्ठ नागरिक पनि सामाजिक सुरक्षाको दायरामा छन् ।

सबै लाभग्राही ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँका दरले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेको अर्यालले जानकारी दिइन् ।

सबै सार्वजनिक सवारी साधनमा कम्तीमा दुई सिट ज्येष्ठ नागरिकको लागि सुरक्षित गरिएको तथा यात्रुवाहक भाडादरमा न्युनतम ५० प्रतिशत छुट उपलब्ध गराइएको उनले बताइ्न । 

स्वास्थ्य सेवातर्फ सरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थामा ज्येष्ठ नागरिकका लागि बहिरंग र अन्तरंग सेवामा निश्चित सेवा सहितको शैय्या वार्डको व्यवस्था गरिएको उनको भनाइ छ ।

उपचार शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था लागू गरिएको उल्लेख गर्दै हाल ७७ जिल्लाका ९४ वटा अस्पतालबाट यस्तो सेवा प्रवाह भइरहेको उनले बताइन् । 

यस्तै, ७० वर्षभन्दा माथिका सबै ज्येष्ठ नागरिकका लागि एक लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइए पनि सेवा प्रवाहको प्रभावकारितामाथि प्रश्न उठिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *