Untitled design - 1

सर्लाही, २६ माघ । वैदेशिक रोजगारीको बहानामा मोटो रकम ठगी गरेको आरोपमा प्रहरीले काठमाडौँबाट पाँच जनालाई पक्राउ गरेको छ । 

उनीहरूले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै युवाहरूबाट रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

पक्राउ पर्नेमा ललितपुर धापाखेल बस्ने काठमाडौँको कीर्तिपुर नगरपालिका-२ घर भएकी ४३ वर्षीया विना महर्जन, ४५ वर्षीया विन्दा महर्जन, काठमाडौँ चन्द्रागिरी नगरपालिका-१४ बस्ने बागलुङ काठेखोला गाउँपालिका-२ घर भएकी ४३ वर्षीया कोपिला शर्मा, काठमाडौँ महानगरपालिका-२६ बस्ने धनकुटाको धनकुटा नगरपालिका-२ घर भएका ३१ वर्षीय सन्तोष राई र काठमाडौँको बुढानिलकण्ठ नगरपालिका-११ बस्ने काभ्रेको चौँरीदेउरीली नगरपालिका-९ घर भएकी ४८ वर्षीया कुमारी तामाङ रहेका छन् ।  

पक्राउ परेकामध्ये विना र विन्दाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट १० लाख रूपैयाँ, कोपिलाले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख रूपैयाँ, सन्तोषले कम्बोडिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ७० हजार रूपैयाँ र कुमारीले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १३ लाख ६० हजार रूपैयाँ लिएको आरोप छ । 

रकम लिएपछि सम्पर्कविहीन भएको पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विना र विन्दालाई काठमाडौँ महानगरपालिका-११ बाट तथा कुमारीलाई काठमाडौँ महानगरपालिका-४ बाट पक्राउ गरेको हो । 

त्यसैगरि कोपिलालाई काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ बाट र सन्तोषलाई काठमाडौँ महानगरपालिका-२६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ। उनीहरुमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *