सर्लाही, ०१ फागुन । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ । 

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले दैनिक १२ देखि १५ लाख मतपत्र छपाइ भइरहेको र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने जानकारी दिए । 
    
उनले भने, “आज बिहानसम्ममा छ प्रदेशको मतपत्र छपाइ सम्पन्न गरेर बागमती प्रदेशका लागि आवश्यक मतपत्र छपाइ सुरु गरेका छौँ ।

उम्मेदवार धेरै भएका जिल्लामा ठूलो आकारको र थोरै उम्मेदवार भएको जिल्लामा सानो मतपत्र छाप्नुपर्ने हुँदा छपाइमा केही दिन ढिला भएको जानकारी दिँदै प्रबन्ध निर्देशक पौडेलले छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत मतपत्र ढुवानी सुरु गरिएको बताए ।  
    
केन्द्रले छपाइ सम्पन्न गरेका १० लाख नमुना मतपत्र निर्वाचन आयोगले विभिन्न ठाउँमा पु¥याइसकेको छ भने दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फको मतपत्र छपाइ गरी जिल्ला जिल्लामा ढुवानी सुरु भइसकेको छ । 
    
केन्द्रका अनुसार कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका निर्वाचन क्षेत्रमा मतपत्रको ढुवानी सकिएको छ । ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएर ढुवानी भइरहेको छ । 
    
केन्द्रले डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम भाग), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभाको मतपत्र छपाइ सम्पन्न गरिसकेको छ । 
    
यस्तै, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम (नवलपरासी), मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोकको मतपत्रसमेत छपाइ सकिएको केन्द्रले जनाएको छ ।कुल दुई करोड तीन लाख मतपत्र छपाइ गर्नुपर्नेमा एक करोड ७३ लाख मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म बाँकी ३० लाख मतपत्र छपाइ गरेसँगै सबै मतपत्र छपाइ सम्पन्न हुनेछ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *