सर्लाही, ०१ फागुन । फागुन २१ गते हुन गइरहेको चुनावमा निर्वाचन पर्यवेक्षण समिति नेपालले देशका ७७ वटै जिल्लामा ७०० जना पर्यवेक्षक परिचालन गरेको जनाएको छ ।

प्रतिनिधि सभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित पर्यवेक्षक परिचालन गरेको निर्वाचन पर्यवेक्षण समितिले जनाएको छ ।

समितिका अनुसार स्वयंसेवक, अल्पकालीन, दीर्घकालीन तथा विशिष्ट विज्ञ पर्यवेक्षकहरूको क्रमिक परिचालनको तयारी भइरहेको छ । यसअन्तर्गत ४० जना दीर्घकालीन पर्यवेक्षकहरूले निर्वाचनका सम्पूर्ण विधि र प्रक्रियाको नजिकबाट अनुगमन गरिरहेका छन् ।

पर्यवेक्षकहरूले निर्वाचन आयोग, नेपाल सरकार, राजनीतिक दल, सुरक्षा निकाय, उम्मेदवार, सार्वजनिक पदधारण गरेका व्यक्ति, सञ्चारकर्मी, सामाजिक संघसंस्था तथा मतदातालगायत सम्पूर्ण सरोकारवालासँग समन्वय गर्दै निर्वाचन आचारसंहिता पालना भए–नभएको, प्रचारप्रसार खर्च र त्यसको स्रोतबारे गहिरो अध्ययन गरिरहेका छन् ।

समितिले कानुनसम्मत रूपमा शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष, स्वतन्त्र, मर्यादित, मितव्ययी तथा भयरहित निर्वाचन सम्पन्न गर्न सबै सरोकारवालाको सकारात्मक योगदान आवश्यक रहेको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *