सर्लाही, ०१ फागुन ।  रौतहटमा नक्कली नेपाली रुपैयाँ हजार दरका १४ थान नोटसहित दुई जना पक्राउ परेका छन् । विश्रामपुर बजारस्थित एक किराना पसलमा नक्कली नोट चलाउन खोजेपछि उनीहरू प्रहरीको फन्दामा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार वृन्दावन नगरपालिका–१ मा रहेको विशाल किराना पसलमा पेट्रोल किन्न पुगेका दुई जनाले भुक्तानीका क्रममा शंकास्पद नोट दिएका थिए ।

पसल सञ्चालकले नोट नक्कली हुनसक्ने आशंका गर्दै प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोली पुगेर जाँच गर्दा वृन्दावन–२ का ३२ वर्षीय दिनेश पटेलको साथबाट हजार दरका १२ थान नक्कली नोट बरामद भएको थियो ।

त्यस्तै सर्लाही बरहथवा नगरपालिका–१ का ३० वर्षीय विवेक प्रसाद यादवले मोबाइल कभरभित्र लुकाएर राखेको हजार दरका २ थान नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरू बीआर ३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा आएका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालका अनुसार दुवै जनालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ ।

प्रहरीले नक्कली नोटको स्रोत र सम्भावित संलग्नताबारे समेत अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *