सब–इन्जिनियर प्रमोद कुमार यादव ।

सर्लाही, ०३ फागुन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–१० देवीटोलमा पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको छ ।

सिरहा जिल्लाको सुखीपुर नगरपालिका–६ घर भई हाल मलंगवा नगरपालिका- १० स्थित दुर्गानन्द यादवको घरमा डेरा गरी बस्दै आएका करिब ३६ वर्षीय यादवमाथि आज (आईतबार) राति करिब ८ बजे मोटरसाइकलमा आएका अपरिचित हतियारधारी व्यक्तिले गोली प्रहार गरी फरार भएका हुन् ।

प्रहरीका अनुसार कोठामा बसिरहेका यादवलाई अज्ञात व्यक्तिले फोन गरेर कम्पाउण्ड बाहिर बोलाएका थिए । घर अगाडिको प्यासेजमा पुगेपछि उनलाई नजिकैबाट गोली प्रहार गरिएको थियो । गोली यादवको बायाँ छातीमा लागेको बताइएको छ ।

गोली लागेर प्यासेजमै लडिरहेको अवस्थामा उनकी श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा चिकित्सकले राति करिब पौने ९ बजे मृत घोषणा गरेका थिए ।

यादवका श्रीमती र एक छोरी छन् । घटनामा संलग्न व्यक्तिको खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *