सर्लाही, ०४ फागुन । सर्लाही जिल्ला अदालतमा कार्यरत कर्मचारीहरूले सब–इन्जिनियर प्रमोद कुमार यादवको गोली प्रहारबाट भएको हत्याको विरोध गर्दै सोमबार एक दिनका लागि अदालतको सम्पूर्ण सेवा स्वस्फूर्त रूपमा बन्द गर्ने निर्णय गरेका छन् ।

अदालतका श्रेस्तेदार ज्ञानबहादुर खत्रीका अनुसार हत्याप्रति गम्भीर आपत्ति जनाउँदै दोषीमाथि कडा कानुनी कारबाहीको मागसहित न्यायिक सेवा स्थगित गरिएको हो ।

पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत सब–इन्जिनियर यादवलाई आइतबार साँझ करिब ८ बजे मलंगवा नगरपालिका–१०स्थित डेराबाट बाहिर बोलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो । उक्त घटनाप्रति अदालतका कर्मचारीहरूले घोर भर्त्सना जनाएका छन् ।

कर्मचारीहरूले घटनाको निष्पक्ष तथा शीघ्र अनुसन्धान गरी संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेका छन्। साथै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

कर्मचारीहरूले मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा कर्मचारी र कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

अदालत कर्मचारीद्वारा जारी विज्ञप्तिमा २०८२ फागुन ४ गते एक दिनका लागि सर्लाही जिल्ला अदालतबाट प्रदान हुने सम्पूर्ण सेवा बन्द गरिएको उल्लेख गरिएको छ । सेवा स्थगनका कारण सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कर्मचारीहरूले क्षमायाचना समेत व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *