सर्लाही, ०४ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आर्थिक सहयोग उपलब्ध गराउन चीनले पनि इच्छा देखाएको छ । 

निर्वाचनको सहयोगार्थ चीनले करिब ५८ करोड रुपैयाँ उपलब्ध गराउने गरी प्रस्ताव गरेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको हो ।

अर्थमन्त्री रामेश्वर खनालले पनि निर्वाचन सहयोगार्थ चीनबाट आर्थिक सहयोगको प्रस्ताव आएको स्वीकार गरे । तर प्रस्तावको विषयमा भने हालसम्म सम्झौता नभएको बताएका छन् । 

चुनावका लागि भारत, जापान र यूएनडीपीले भने सहयोग उपलब्ध गराइसकेका छन् । भारतले ६५० वटा सवारी साधन, जापानले ४० करोड रुपैयाँ र यूएनडीपीले निर्वाचन आयोगलाई सहयोग उपलब्ध गराएको छ ।

भारतले उपलब्ध गराउने ६५० सवारीमध्ये तीन चरणमा ३१० भन्दा बढी सवारी साधन उपलब्ध गराइसकेको छ । जापानले यसअघि नेपाललाई उपलब्ध गराएको सहयोगबाट खर्च हुन नसकेको रकम उपलब्ध गराएको हो ।

उक्त सहयोग रकम दुवै देशको सम्झौताको आधारमा टुंगोमा पुगिसकेको छ । यूएनडीपीले विगतमा पनि चुनावका लागि सहयोग गर्ने गरेको थियो। हालको सहयोग पनि त्यसको निरन्तरता भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *