सर्लाही, ०७ फागुन । सर्लाहीमा कार्यालय प्रमुखहरुको बैठकले अत्यावश्यक कामबाहेक निर्वाचन अवधिभर कर्मचारीहरु बिदामा लिन नपाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा सम्पन्न बैठकले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै राष्ट्रसेवक कर्मचारीलाई चुनाव अवधिभर बिदामा लिन नदिने निर्णय गरेको हो ।

निर्वाचनमा खटाइएको स्थानमा खट्ने/खटाउने प्रवन्ध मिलाइ आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्दै प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई सफल बनाउने कार्यालय प्रमुखहरुको बैठकले निर्णय गरेको छ ।

निर्वाचनका लागि सर्लाहीका ६२८ मतदान केन्द्रमा ३ हजार ७६८ कर्मचारी खटाइँदै छ । यस्तै बैठकले निर्वाचन प्रयोजनका लागि अत्यावश्यक हुने सवारी साधन जुनसुकै बेला आवश्यक परी माग गर्नुपर्ने भएकाले आफ्ना कार्यालयमा रहेका सवारी साधनहरु चालु अवस्थामा राखी माग भए बखत तत्काल उपलब्ध गराउने निर्णय गरिएको हो ।

हिजोको बैठकले पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सव–इन्जिनियर प्रमोदकुमार यादवको अज्ञात व्यक्तिद्वारा गोली हानी हत्या गरिएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा सम्पन्न निर्वाचन लक्षित कार्यालय प्रमुखहरुको बैठकले राष्ट्रसेवक कर्मचारीले सेवा प्रवाहको कारण सेवाग्राही वा अन्य कुनै पक्षबाट कुनै प्रकारको असुरक्षा महसुस भएको अवस्थामा प्रमुख जिल्ला अधिकारी वा सुरक्षा निकाय समक्ष तत्काल जानकारी गराउने निर्णय गरेको छ ।

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचन आउन अब दुई साता बाँकी रहँदा जिल्लामा यस प्रकारका बैठकसहित तयारीका काम तीव्र रुपमा भइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *