सर्लाही, १० फागुन । ब्राजिल र भारतले महत्त्वपूर्ण खनिज पदार्थको सम्झौता हस्ताक्षर गरेका छन् । भारत सरकारले चीनमाथिको निर्भरता कम गर्न नयाँ आपूर्तिकर्ताहरू खोज्दै गर्दा दुई देशले महत्त्वपूर्ण खनिज सम्झौतामा हस्ताक्षर गरेका समाचार संस्था अलजजीराले जनाएको छ ।
ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले हिजो नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर व्यापार र लगानीका अवसरहरू बढाउनेबारेमा छलफल गर्नुभएको खबरमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री मोदीले महत्त्वपूर्ण खनिज सम्झौतालाई लचिलो आपूर्ति शृङ्खला निर्माण गर्ने दिशामा एक प्रमुख कदम भनेर प्रशंसा गर्नुभएको छ ।
यस्तै ब्राजिलका राष्ट्रपति लुलाले नवीकरणीय ऊर्जा र महत्त्वपूर्ण खनिजहरूको मामिलामा लगानी र सहयोग बढाउन भारतसँग सम्झौता गरेको बताउनुभएको छ ।
विश्वको दुर्लभ–पृथ्वी र महत्त्वपूर्ण खनिजहरूको खानी र प्रशोधनमा चीनको प्रभुत्व छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ताले महत्त्वपूर्ण खनिज सम्झौतासँगै डिजिटल सहयोगदेखि स्वास्थ्यसम्मको समझदारी पत्रसहित नौ अन्य सम्झौतामा पनि हस्ताक्षर भएको छ ।
आर्थिक जटिलताको अवलोकनकर्ता (ओईसी) का अनुसार सन् २०२४ मा भारतले ब्राजिलमा ब्राजिलमा भारतीय निर्यात ७ अर्ब २३ करोड अमेरिकी डलर बराबरको निर्यात गरेको छ । यस्तै ब्राजिलले भारतमा ५ अर्ब ३८ करोड डलर बराबरको निर्यात गरेको थियो ।
