सर्लाही, ११ फागुन । भदौ २३ र २४ गतेको घटना छानबिन गर्न गठित गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले प्रतिवेदन लेखन अन्तिम चरणमा पुगेको जनाएको छ । सरकारले अन्तिमपटक थपेको म्यादभित्र प्रतिवेदन बुझाउने आयोगको तयारी छ ।

आयोगको प्रतिवेदन फागुन २१ गतेको चुनावअघि नआउने लगभग निश्चित भएको छ । चुनावअघि आयोगको प्रतिवेदन आउँदा सुरक्षा चुनौती बढ्ने र कतिपय उम्मेदवार नै कारबाहीको सिफारिसमा पर्ने अवस्था रहेकाले सरकारले सहज चुनाव सम्पन्न गर्ने उपायस्वरूप आयोगको म्याद थपेको हो ।

आयोग स्रोतका अनुसार भदौ २३ को घटनामा प्रत्यक्षरूपमा कुनै व्यक्तिलाई दोषी किट्नेबारे आयोग निष्कर्षमा पुगेको छैन । फिल्डमा खटिएका सुरक्षाकर्मी, त्यसको चेन अफ कमाण्ड र राजनीतिक नेतृत्वको भूमिकाको विश्लेषण गरेर भविष्यमा यस्ता घटना हुन नदिन के गर्ने भन्ने सुझाव प्रतिवेदनमा उल्लेख हुनेछ ।

भदौ २४ को विध्वंस, आगजनी, लुटपाट र तोडफोडमा संलग्नहरूको भने भिडिओ फुटेज र फोटोहरूको आधारमा किटान गरेरै कारबाही सिफारिसको तयारी आयोगले गरेको छ । कारबाही सिफारिस पर्नेमा ९ जना जति अहिले प्रतिनिधिसभाका उम्मेदवार रहेको आयोग स्रोतको दाबी छ । त्यसमा अधिकांश रास्वपाबाट उम्मेदवार बनेकाहरु छन् ।

आयोगका एक पदाधिकारीका अनुसार भदौ २४ को बिध्वंशका मात्रै करीव १० हजार भिडिओ क्लिप संकलन भएका छन् । ती भिडिओ क्लिपहरू सुरक्षा निकाय,विभिन्न राजनीतिक दल, सर्वसाधारण व्यक्ति, निजी उद्योग प्रतिष्ठान र घरहरूका सीसीटिभी फुटेजहरूबाट संकलन भएका छन् ।

ती भिडिओका आधारमा पहिचान भएका ५ सयभन्दा बढी व्यक्तिहरूमाथि विभिन्न कारबाहीको सिफारिस हुँदैछ । त्यसमा प्रतिनिधिसभाका उम्मेदवार बनेका व्यक्ति पनि परेका छन् । आयोगले ती उम्मेदवारको नाम भने अहिले गोप्य राखेको छ ।

घटना विवरणको संकलन, विश्लेषण, अनुसन्धान र निष्कर्षका आधारमा प्रतिवेदन लेखनको काम अन्तिम चरणमा रहेको आयोगका प्रवक्ता विज्ञानराज शर्माले बताएका छन् । सरकारलाई प्रतिवेदन बुझाएपछि त्यसको अध्ययन गरेर सार्वजनिक गर्ने वा नगर्ने अधिकार भने मन्त्रिपरिषदमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *