सर्लाही, १५ फागुन । सर्लाहीमा प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, पारदर्शी, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न जिल्लामा विशेष सुरक्षा व्यवस्था लागू गरिएको छ ।
होली पर्वसमेत नजिकिँदै गर्दा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारीले विभिन्न प्रतिबन्धात्मक आदेश जारी गरेका हुन् ।
जारी सूचनाअनुसार मिति २०८२ फागुन १५ गतेदेखि २२ गतेसम्म विदेशी नम्बर प्लेटका दुई पाङ्ग्रे, चार पाङ्ग्रे लगायतका सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ ।
आदेश उल्लंघन गरी सञ्चालन गरेको पाइएमा सुरक्षाकर्मीले निर्वाचन अवधिभर ती सवारी साधन नियन्त्रणमा लिने जनाइएको छ । त्यसैगरी मौन अवधिभर, अर्थात् फागुन १८ गते राति १२ बजेदेखि फागुन २१ गते राति १२ बजेसम्म मदिराजन्य पदार्थको बिक्री–वितरण तथा सेवन पूर्णरूपमा निषेध गरिएको छ ।
डिजे बाजासमेत पूर्णरूपमा बन्द गर्ने आदेश जारी गरिएको छ । उल्लंघन गरेमा आवश्यक कारबाही गरिने प्रशासनले चेतावनी दिएको छ ।
होली पर्वको नाममा कसैको इच्छा विपरीत रङ लगाउने, लोला हान्ने, पानी वा हिलो छ्याप्ने, नमेटिने रङ प्रयोग गर्ने, जिस्काउने तथा सार्वजनिक स्थानमा होहल्ला गर्ने जस्ता गतिविधि नगर्न प्रशासनले अनुरोध गरेको छ ।
यस्ता गतिविधिले व्यक्तिको निजी जीवन र सामाजिक सद्भावमा असर पार्न सक्ने उल्लेख गरिएको छ । मतदानका दिन अत्यावश्यक सेवाका सवारी साधन बाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
फागुन २० गते राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षा निकाय, विद्युत, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन, कूटनीतिक नियोगका सवारी साधन र पास प्राप्त सवारी साधन बाहेक अन्य कुनै पनि सवारी साधन सञ्चालन गर्न पाइने छैन ।
प्रशासनले सूचनाको उल्लंघन गरी सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्याउने जो–कोहीलाई प्रचलित कानून बमोजिम कारबाही गरिने स्पष्ट पारेको छ ।
निर्वाचनलाई सफल बनाउन सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न जिल्लास्थित राजनीतिक दल, सञ्चारकर्मी, नागरिक समाज, होटल व्यवसायी तथा सम्पूर्ण जिल्लावासीबाट पूर्ण सहयोगको अपेक्षा गरिएको छ ।

