सर्लाही, १५ फागुन । सर्लाहीमा फागुन २१ को निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र आइपुगेको छ ।

काठमाडौंस्थित निर्वाचन आयोगबाट नेपाली सेनाको स्कर्टिङमा हिजो बेलुका मतपत्र ल्याइएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले बताए ।

मतपत्र प्राप्त भएसँगै निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण निर्वाचन सरसामग्री जुटेको उनले बताए । जिल्ला निर्वाचन अधिकारी पौडेलका अनुसार अब प्रत्येक मतदान केन्द्रमा कर्मचारी पठाउने तयारी भइरहेको छ ।

ढिलोमा फागुन १८ गतेसम्म मतदान केन्द्रमा कर्मचारी पुगिसक्ने जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले बताएका छन् । मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितका कर्मचारी मतपत्र र अन्य आवश्यक निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा पुग्ने छन् ।

मतदान केन्द्रमा पुगेर सर्वपक्षीय बैठक गर्ने, निषेधित चारकिल्ला तोक्ने, मतदान केन्द्र तयार पार्नेलगायतका काम गर्नुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनायो ।

कर्मचारीसँगै मतदान केन्द्रमा पुग्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी पनि तयारी अवस्थामा रहेका सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् ।

फागुन २१ गतेको निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल र ६२८ मतदान केन्द्र तोकिएका छन् ।

जिल्लामा दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य गरी जम्मा पाँच लाख ११ हजार ६०६ जना मतदाता रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *