सर्लाही, ०८ जेठ । नागरिक एपमा जन्म दर्ता, विवाह दर्ता र सम्बन्ध विच्छेद प्रमाणपत्र लिङ्क गर्न सकिने सुविधा थपिएको छ । एपको पछिल्लो भर्सन (२.०.१००) को अपडेटसँगै यी सुविधाहरू उपलब्ध गराइएको हो ।

व्यक्तिगत घटना दर्ता सम्बन्धी यी प्रमाणपत्र लिङ्क गर्ने फिचरलाई यसअघिको नियमित डकुमेन्ट्सभन्दा अलग्गै राखिएको छ । नागरिक एपको होम पेजमा यसका लागि भाइटल इभेन्ट सर्टिफिकेट्स (Vital Event Certificates) खण्ड नै थप गरिएको छ ।

जसमा गएर जन्म दर्ताका लागि दर्ता नम्बर र जन्ममिति, विवाह दर्ताका लागि दर्ता नम्बर र प्रमाणपत्र नम्बर अनि डिभोर्स सर्टिफिकेटका लागि दर्ता नम्बर र डिभोर्स भएको मिति उल्लेख गर्नुपर्ने हुन्छ ।

यस बाहेक नयाँ अपडेटमा इमिग्रेसनको सुविधा समेत थप गरिएको छ । जसमा भिजिट भिसामा विदेश जान चाहनेहरूले विमानस्थलमा भर्नुपर्ने स्वघोषणा फारामको आवेदन दिन सकिने सुविधा उपलब्ध गराइएको छ ।

भिजिट भिसाका लागि स्वघोषणाको नाममा झन्झटिलो प्रक्रिया अपनाउनु पर्ने र कसलाई भिसा दिने वा नदिने भन्ने अन्योलताको अन्त्य गर्न यो सुविधालाई नागरिक एपमा ल्याइएको हो । यससँगै अब एपबाट आवेदन दिए पश्चात् काउन्टरमा गएर त्यस्तो फाराम भर्नुपर्ने बाध्यता हटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *