काठमाडौं, ४ असार । फिफा विश्वकपमा बुधबार राति पोर्चुगलविरुद्ध डीआर कंगोले मैदानमा देखाएको आत्मविश्वास साँच्चै प्रशंसनीय थियो ।

तर, यी खेलाडीहरूको वास्तविक संघर्ष विश्वकपको मैदानभन्दा धेरै टाढा आफ्नै देशमा चलिरहेको छ । पोर्चुगलका खेलाडीहरू खेलमा मात्र केन्द्रित हुन सक्छन् । तर, कंगोलीहरूको कथा फरक छ ।

उनीहरू  युद्ध, विस्थापन, गरिबी र अनिश्चितताले भरिएको देशको पीडा बोकेर मैदानमा आएका छन् ।

त्यसैले यी कंगोली जितका लागि मात्र खेलिरहेका छैनन् । आफ्नो देशको कथा संसारलाई सुनाउन पनि खेलिरहेका छन् । त्यसैले कंगोको हरेक पास, हरेक दौड र हरेक संघर्षभित्र फुटबलभन्दा ठूलो भावना लुकेको छ ।

डेमोक्रेटिक रिपब्लिक अफ कंगो अर्थात् डीआर कंगो अफ्रिकाको दोस्रो ठूलो देश हो । तेल, हिरा, सुन र अरु यस्तै बहुमूल्य खनिज स्रोतले सम्पन्न भए पनि यो देशका आधाभन्दा बढी मानिस चरम गरिबीमा जिन्दगी बिताउन विवश छन् ।

नेपालमा बस्ने हामी नेपाली भनेर चिनिएजस्तै कंगोका नागरिकलाई ‘कंगोली’ भनेर चिनिन्छ । यो देशमा १० करोड ८० लाखभन्दा धेरै जनसंख्या छ ।

यो देशमा दशकौँदेखि सरकार र विद्रोही समूहबीच लगातार संघर्ष चलिरहेको छ । नागरिकहरू दुवैपक्षको चेपुवामा परिरहेका छन् ।

एकातिर सशस्त्र समूहको आक्रमण, लुटपाट र बालबालिकालाई जबर्जस्ती सैनिक बनाउने पीडा छ भने अर्कातिर कमजोर शासन, भ्रष्टाचार र अस्थिरताले जीवन झन् कठिन बनाएको छ । यही कारणले देश गरिबीबाट माथि उठ्न सकिरहेको छैन ।

कमजोर स्वास्थ्य प्रणाली र ठूलो जनसंख्याका कारण यहाँ सानो महामारी पनि ठूलो संकटमा बदलिने गरेको छ ।

कोभिड– १९, हैजा, दादुरा र इबोलाजस्ता रोगहरूले पटक–पटक देशलाई गम्भीर मानवीय संकटमा धकेलेका छन् ।

देश स्रोतसाधनले धनी भए पनि यसबाट फाइदा लिन नसक्दा डीआर कंगोका आधाभन्दा बढी जनसंख्या गरिब छ । अहिले करिब २ करोड ७० लाख मानिस गरिबी र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । यो भनेको अफ्रिकाका कुनै पनि देशभन्दा बढी संख्या हो ।

हाल डीआर कंगोमा ५० लाखभन्दा बढी बालबालिका र वयस्कहरू विस्थापित भएका छन् । उनीहरू गरिबी, हिंसा र मानसिक आघातको सामना गरिरहेका छन् ।

सशस्त्र समूह र मिलिसियाहरूको हिंसात्मक गतिविधिका कारण धेरै मानिस आफ्नै घर छोडेर अन्तै शरण लिन बाध्य भएका छन् ।

(SP)U.S.-HOUSTON-FOOTBALL-FIFA+WORLD+CUP-GROUP+K-POR+VS+CODXxjpseE000105_20260618_PEPFN0A001-1781760886.JPG
कंगोको इतिहास पनि सुखद छैन । सन् १९९७ भन्दा अगाडि यो देशलाई जाइर भनेर चिनिन्थ्यो । यो वर्ष राष्ट्रपति लोरेन्ट डेजिरे काबिलाले मोबुतु सेसे केको शासन सत्ता हटाएपछि देशको नाम औपचारिक रूपमा डीआर कंगो राखेका थिए । जाइरभन्दा अगाडि यो देशको नाम बेल्जियन कंगो थियो ।

जतिबेला यो देशलाई बेल्जियमका राजाले देशका रूपमा होइन कि निजी सम्पतिका रूपमा प्रयोग गर्थे । बेल्जियमका राजा लियोपोल्ड द्वितीयले यसलाई कंगो फ्रि स्टेट भनेर चलाए पनि वास्तविकता अर्कै थियो ।

उनको मुख्य उद्देश्य नै कंगोमा रहेको पैसा र प्राकृतिक स्रोतमा कब्जा जमाउनु थियो । यहाँको रबर, हात्तीको दाँत र खनिज स्रोतहरूमाथि राजाको नजर थियो । यी वस्तुहरू युरोपमा धेरै मूल्यका थिए, त्यसैले स्थानीय जनतालाई मान्छेजसरी होइन कि स्रोतझैँ प्रयोग गरियो ।

उनीहरूलाई जबर्जस्ती श्रममा लगाइन्थ्यो । हिंसा गरिन्थ्यो । उत्पादन नपुर्‍याए सजाय दिइन्थ्यो । कंगोमाथि बेल्जियमले गरेको औपनिवेशिक शासनलाई नै इतिहासको सबैभन्दा क्रूरमध्ये एक शासन मानिन्छ ।

त्यो समयमा लाखौँदेखि करोडौँ मानिसको मृत्यु भएको अनुमान गरिन्छ । रोग, भोक, र हिंसाले कंगोको जनसंख्या ठूलो मात्रामा घटेको थियो ।

सन् १९०८ पछि यो क्षेत्र राजाको कब्जाबाट बेल्जियम सरकारको नियन्त्रणमा गयो । यसपछि शासन त केही नरम भयो, तर असमानता उस्तै थियो । कंगोलीहरूलाई पावर दिइएको थिएन । उनीहरूको प्राकृतिक स्रोतको दोहन भइरहेको थियो ।

बेल्जियमको यो ज्यादतीविरुद्ध कंगोलीले लामो संघर्ष गरेका छन् । उपनिवेशविरोधी आन्दोलन हुन्छ । राजनीतिक चेतनासँगै स्वतन्त्रताको माग पनि बढ्दै जान्छ ।

१९५० को अन्त्यतिर बेल्जियमले महसुस गर्छ कि उपनिवेशलाई अब लामो समय नियन्त्रणमा राख्न सकिँदैन । किनभने, अफ्रिकाभर स्वतन्त्रता आन्दोलन फैलिँदै थियो । त्यसपछि बेल्जियम स्वतन्त्रता दिन सहमति हुन्छ ।

३० जुन १९६० मा कंगोले औपचारिक रूपमा स्वतन्त्रता पाउँछ । र, यो देशको पहिलो राष्ट्रपति जोसेफ कासा भोबु र पहिलो प्रधानमन्त्री प्याट्रिक लुमुम्बा बन्छन् ।

तैपनि, देशमा पूर्ण शान्ति र अमनचयन आउँदैन । आन्तरिक झगडा, लुछाचुँडी, विदेशी हस्तक्षेप, सैनिक विद्रोह, क्षेत्रीय विभाजनको प्रयासजस्ता कारणले देश अस्थिरतामै रुमलिन्छ ।

(SP)U.S.-HOUSTON-FOOTBALL-FIFA+WORLD+CUP-GROUP+K-POR+VS+CODXxjpseE000113_20260618_PEPFN0A001-1781760911.JPG
सन् १९७१ मा राष्ट्रपति मोबुतु सेसे सेकोले देशको नाम फेरेर जाइर राख्छन् । पुरानो औपनिवेशिक नाम किन राख्ने, अरु अफ्रिकन आइडेन्टिटीसहितको नाम राख्ने भन्ने तर्क गर्दै उनले यसो गरेका थिए । यो नाम सन् १९७१ देखि १९९७ सम्म रह्यो ।

यही बीचमा जायर नामबाट कंगोले १९७४ को फिफा विश्वकप खेलेको थियो । त्यो विश्वकप फाइनलमा नेदरल्यान्डलाई हराउँदै जर्मनी च्याम्पियन बनेको थियो ।

सन् १९९७ पछि जाइरबाट फेरि कंगो नाम राखियो । मोबुतु शासनबाट हटेपछि देशको नाम फेरि Democratic Republic of the Congo (DRC) राखिएको थियो । ५२ वर्षपछि यो देश विश्वकपमा यही नामबाट खेलिरहेको छ ।

यो देशले अहिले पनि एकपछि अर्को संकटको सामना गरिरहेको छ । दोस्रो कंगो युद्ध सकिएपछि पनि देशका विभिन्न प्रान्तहरूमा सरकार र सशस्त्र समूहबीचको क्षेत्रीय हिंसा लाखौँ कंगोलीहरूको जीवनका लागि निरन्तर खतरा बनेको छ ।

पछिल्लो दशकमा, जर्मनीको आकार बराबरको मध्य क्षेत्र कसाइमा ठूलो स्तरको द्वन्द्व फैलियो, जसले सन् २०१० को अन्त्यतिर १४ लाखभन्दा बढी मानिसहरूलाई विस्थापित गर्‍यो ।

पछिल्ला वर्षहरूमा २०२२ देखि पूर्वी प्रान्तहरू उत्तर किभु र दक्षिण किभुमा हिंसा तीव्र रूपमा बढेको छ ।

गत वर्ष गोमा, मसिसी र बुकुभु भन्ने क्षेत्रवरपर सबैभन्दा भिषण लडाइँ भएको थियो । यसपछि धेरै मान्छे ठाउँ छोडेर हिँड्न बाध्य भए । देशभित्रै विस्थापित व्यक्तिहरूका प्रमुख शिविरहरूसमेत बन्द हुन पुगे ।

यो हिंसाले मानवीय सहायता वितरणलाई पनि गम्भीर रूपमा अवरुद्ध गर्‍यो र आवश्यकताको स्तर झन् बढायो । लडाइँका बीच पसल, सार्वजनिक बजार र गोदामहरू लुटिए ।

बजारहरू अस्थायी रूपमा बन्द भए र गोमा विमानस्थल लामो समयदेखि सञ्चालनमा आउन सकेको छैन, जसले मानवीय सहायता आपूर्तिमा ठूलो असर पारेको छ ।

स्थानीय बैंकहरू पनि बन्द हुँदा नागरिकहरू नगद पहुँचबाट वञ्चित भएका छन् । यसले आर्थिक संकट झन् गहिरिँदै गएको छ । मूल्यवृद्धि, महँगी र मुद्रास्फीति तीव्र रूपमा बढिरहेका छन्, जसले आमजनजीवनलाई अझ कठिन बनाइदिएको छ ।

gfgfddgdf-1781760954.jpeg

कंगोमा सन् २०२६ मा करिब १ करोड ४९ लाख मानिसलाई मानवीय सहायता आवश्यक पर्ने अनुमान गरिएको छ । यसमा विदेशमा शरण लिएका करिब ५ लाख १३ हजार कंगोली शरणार्थीहरू पनि समावेश छन् ।

यहाँ अहिले मानवीय सहायताभन्दा पनि खाद्य सुरक्षासम्बन्धी संकट अझ ठूलो समस्या बनेको छ । Integrated Food Security Phase Classification (IPC) का अनुसार, आगामी जुनसम्म करिब २ करोड ६६ लाख मानिस भोकमरीको संकट उच्च स्तरमा पुग्ने अनुमान गरिएको छ । यो संख्या देशको करिब २२ प्रतिशत जनसंख्या हो । यसमध्ये झण्डै ४० लाख मानिसहरू आपतकालीन भोकमरीको अवस्थामा पुग्ने जोखिममा छन् । यो अवस्था संकटभन्दा एक चरण माथि र भोकमरीभन्दा एक चरण तलको अत्यन्त गम्भीर अवस्था हो ।

यस संकटले विशेषगरी साना बालबालिकालाई सबैभन्दा बढी असर पारेको छ । पाँच वर्षमुनिका ४८ लाखभन्दा बढी बालबालिका तीव्र कुपोषणको जोखिममा छन् वा पहिले नै प्रभावित भइसकेका छन् । यीमध्ये करिब एकतिहाइ बालबालिकामा कुपोषणको अवस्था अत्यन्त गम्भीर छ, जुन जीवनका लागि निकै खतरनाक मानिन्छ ।

गत वर्ष मात्र, United Nations Office for the Coordination of Humanitarian Affairs ले अनुमान गरेको थियो कि कुपोषणबाट प्रभावित करिब १४ लाख बालबालिकाले आवश्यक उपचार पाउन सकेनन् । मुख्य कारण बजेट कटौती र सहायता अभाव नै थियो ।

कंगोमा कुपोषण मात्रै होइन, आधारभूत स्वास्थ्य सेवामा पहुँच पनि गम्भीर संकटमा छ । यहाँका धेरै स्वास्थ्य केन्द्रहरू पर्याप्त बजेट, औषधि, उपकरण र स्वास्थ्यकर्मीको अभावमा कमजोर बनेका छन्, जसले गर्दा बिरामीहरूको चाप थेग्न कठिन छ ।

द्वन्द्व, विस्थापन र प्राकृतिक विपत्तिहरूले रोक्न सकिने र उपचार सम्भव हुने रोगहरूको बारम्बार प्रकोप बढाइरहेका छन् । दादुरा, हैजा, मलेरिय, इबोला, र मङ्किपक्सजस्ता रोगहरू विशेषगरी त्यहाँ फैलिरहेका छन्, जहाँ खोप र औषधिको अभाव छ । साना बालबालिका, गर्भवती महिला, वृद्ध तथा कुपोषणले कमजोर भएका मानिसहरूका लागि यी रोगहरू छिट्टै जीवनघातक बन्न सक्छन् ।

यी प्रकोपहरूको बढ्दो कारणमध्ये एक प्रमुख समस्या स्वच्छ पानी र सरसफाइको अभाव हो । अफ्रिकाको सबैभन्दा जलस्रोत धनी देशमध्ये एक भए पनि, Democratic Republic of the Congo विश्वकै सबैभन्दा पानी अभाव र असुरक्षित सरसफाइ भएका देशहरूमध्ये पनि पर्छ । द्वन्द्वले पानी आपूर्ति र ढल व्यवस्थापन प्रणालीहरू नष्ट गरेको छ ।

विस्थापितहरूको शिविरहरूमा आधारभूत सुविधा पर्याप्त छैन, र बढ्दो जनसंख्याका कारण त्यहाँको सेवा प्रणालीले माग धान्न सकेको छैन । पछिल्ला वर्षहरूमा आएको बाढीले अवस्था झन् बिगारेको छ । पानीका स्रोतहरू प्रदूषित भएका छन्, र पानीजन्य रोगहरू तीव्र रूपमा फैलिएका छन् ।

कंगोको संकटलाई प्रायः टाढाको वा अपरिहार्यजस्तो गरी प्रस्तुत गरिन्छ । यो देश विश्वका सबैभन्दा गरिब देशहरूमध्ये एकमा पर्छ, जहाँ करिब ७५ प्रतिशत कंगोलीहरू गरिबी रेखामुनि जीवन बिताइरहेका छन् ।

अर्कातिर डीआर कंगो विश्वकै सबैभन्दा ठूलो सम्भावित प्राकृतिक सम्पदाको भण्डारमध्ये पनि एक हो । यहाँ करिब २ करोड १ लाख एकड खेतीयोग्य जमिन छ । सुन, हिरा, तामा, जिंक, कोल्टान र कोबाल्टजस्ता बहुमूल्य खनिजहरूको ठूलो भण्डार छ ।

sdfsdffdsdsf-1781760998.jpg
पछिल्ला वर्षहरूमा चर्चामा रहेका दुई महत्त्वपूर्ण खनिज– कोल्टान र कोबाल्ट आजको आधुनिक प्रविधिसँग जोडिएका छन् । स्मार्ट फोन, कम्प्युटर र रिचार्जेबल ब्याट्रीहरू बनाउन यी अत्यावश्यक हुन्छन् । वास्तवमा, कंगोले विश्वको करिब ६७ प्रतिशत कोल्टान र ७० प्रतिशतभन्दा बढी कोबाल्ट उत्पादन गर्छ । यसले संसारभरको प्रविधि चलाउन ठूलो भूमिका खेलेको छ ।

तर, विडम्बना के छ भने, यति ठूलो सम्पदा उत्पादन गर्ने खानीमा काम गर्ने धेरै मानिसहरू अझै पनि गरिबीको चक्रमा फसेका छन् । उनीहरूले बनाउने सम्पदाले विश्वलाई अघि बढाइरहँदा पनि उनीहरूको आफ्नै जीवन भने कठिन र असुरक्षित छ ।

खनिज निकाल्ने र निर्यात गर्ने धेरै कम्पनीहरू विदेशी हुन्छन् । उनीहरूले खानी नियन्त्रण गर्छन्, र ठूलो नाफा कमाउँछन् । डीआर कंगोमै भएका खनिजबाट आएको पैसा धेरै तह हुँदै बाहिरिन्छ ।

विश्वकपमा पहिलो गोल गर्दा नाचेर खुसी फैलाउने कंगोली खेलाडीहरूले आफ्नै देशभित्र झेलिरहेको वास्तविकता यही हो । ५२ वर्षपछि विश्वकपमा फर्केर उनीहरूले क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–१ गोलमा रोकिदिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *