सर्लाही, १६ साउन । मधेश प्रदेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले कफ्र्यु तथा निषेधाज्ञालाई निरन्तरता दिएको छ भने सर्वपक्षीय रूपमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न पहल तीव्र बनाइएको छ ।
धनुषा, पर्सा र सप्तरीमा प्रशासन, राजनीतिक दल, नागरिक समाज तथा विभिन्न समुदायका अगुवाले संयम अपनाउन र अफवाहबाट टाढा रहन सबैसँग अपिल गरेका छन् ।
जनकपुरधाममा शुक्रबार बसेको सर्वपक्षीय सद् भाव समितिको बैठकले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै राजनीतिक दल, धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाले सक्रिय भूमिका खेल्नुपर्ने निष्कर्ष निकालेको छ ।
बैठकले सामाजिक सञ्जालमार्फत फैलाइने भ्रामक सूचना, घृणा फैलाउने सामग्री तथा उत्तेजनात्मक अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि निरुत्साहित गर्न आग्रह गरेको छ ।
धार्मिक सहिष्णुता र सामाजिक एकता प्रवद्र्धन गर्न जनकपुरधामसहित जिल्लाका अन्य स्थानीय तहमा पनि ‘सद्भाव यात्रा’ आयोजना गर्ने निर्णय गरिएको छ ।
यता जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको अनिश्चितकालीन कफ्र्यु दोस्रो दिन शुक्रबार पनि यथावत् राखेको छ । सम्भावित अप्रिय घटना नियन्त्रण तथा शान्ति सुरक्षा कायम राख्न नेपाली सेनासहित सुरक्षा निकायको परिचालन बढाइएको छ ।
शुक्रबार बिहान छ बजेदेखि दुई घण्टाका लागि कफ्र्यु आंशिक रूपमा खुकुलो बनाइए पनि त्यसपछि पुनः कडाइ गरिएको थियो ।
कफ्र्यु उल्लंघन गर्ने केही व्यक्तिमाथि सामान्य अनुशासनात्मक कारबाही गरिएपछि जनकपुरधाम बजार क्षेत्र दिनभर शान्त देखिएको प्रशासनले जनाएको छ । कफ्र्युका कारण बजार, यातायात तथा दैनिक जनजीवन प्रभावित बनेको छ । महोत्तरीको जलेश्वर र गौशाला नगरपालिकामा पनि दिनभर प्रदर्शन भएको छ ।
त्यस्तै सिरहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घर अगाडि स्थानीय र सुरक्षा निकायको टोलीबीच तनाव उत्पन्न भएको छ ।
दिनभर यहाँ प्रदर्शन हुँदा तनावको अवस्था रहेको थियो । गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिरहाका सवारीसाधन स्थानीयले मृतकको घरअगाडि घेराउ गरेका थिए ।
गृहमन्त्री सुधन गुरुङ मृतकको परिवारलाई भेट्न जाँदै थिए । उता पर्साको वीरगञ्ज महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा पनि जिल्ला प्रशासन कार्यालयले पुनः निषेधाज्ञा जारी गरेको छ । शुक्रबार साँझ ५ बजेदेखि शनिबार बिहान ६ बजेसम्म लागू हुने आदेशअनुसार तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ । प्रशासनले आदेश उल्लंघन गर्नेलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
सप्तरीमा भने सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले सर्वपक्षीय सद्भाव र्याली आयोजना गरिएको छ । क्षेत्र नम्बर ४ का सांसद सिताराम साहसहित विभिन्न राजनीतिक, सामाजिक तथा धार्मिक समुदायका प्रतिनिधिहरूको सहभागितामा निकालिएको ¥यालीले सामाजिक सद्भाव, आपसी भाइचारा र धार्मिक सहिष्णुता कायम राख्न सबै नागरिकलाई आह्वान गरेको छ ।
वक्ताहरूले कुनै पनि समुदायबीच विभाजन सिर्जना गर्ने गतिविधिबाट टाढा रहँदै शान्तिपूर्ण सहअस्तित्वलाई सुदृढ बनाउन आग्रह गरेका छन् । यद्यपि सप्तरी प्रशासनले पछिल्लो सुरक्षा अवस्थालाई विश्लेषण गर्दै राजविराज र बोदे बरसाइन नगरपालिका क्षेत्रमा अनिश्चितकालीन कफ्र्युलाई निरन्तरता दिएको छ ।
प्रशासनका अनुसार सम्भावित अप्रिय घटना रोक्न तथा सार्वजनिक सुरक्षा कायम राख्न कडा सुरक्षा व्यवस्था अपनाइएको छ । प्रदेशका विभिन्न जिल्लामा प्रशासनले शान्ति, सुरक्षा र सामाजिक सद्भावलाई प्राथमिकतामा राख्दै नागरिकलाई अफवाहमा विश्वास नगर्न, कानुनको सम्मान गर्न तथा संयमित व्यवहार अपनाउन पुनः आग्रह गरेको छ ।
यस बैठकमा धनुषा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादव, धनुषा– २ का प्रतिनिधिसभा सदस्य रामविनोद यादव, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइँटेल, धार्मिक अगुवा, नागरिक समाज र सर्वसाधारणबीचको सहकार्यबाट मात्रै दीर्घकालीन शान्ति र सामाजिक एकता कायम गर्न सकिने आयोजित बैठकबाट निष्कर्ष निकालिएको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा फेरि निषेधाज्ञा जारी गरेको छ । सप्तरीको खडक नगरपालिका–७ कल्याणपुर बजारमा सर्वपक्षीय सद् भाव र्याली निकालिएको छ ।
