सर्लाही, ०५ भदाै । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले स्वास्थ्य बीमा कार्यक्रमको बजेट नघटाएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वनस्थलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा सहभागी नागरिकले स्वास्थ्य बीमाप्रति सरकारको धारणा र बजेटबारे राखेको जिज्ञासाको जवाफ दिँदै मन्त्री वाग्लेले स्वास्थ्य बीमाको बजेट बढाइएको बताएका हुन् ।
उनका अनुसार गत वर्ष अघिल्लो सरकारले स्वास्थ्य बीमाका लागि १० अर्ब रुपैयाँ बजेट छुट्याएको थियो। उक्त रकम अपुग भएपछि आफू अर्थमन्त्री बनेपछि थप ११ अर्ब रुपैयाँ बजेट व्यवस्था गरिएको उनले बताए ।
त्यस्तै, चालु आर्थिक वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि थप ५ अर्ब रुपैयाँ बढाएर १५ अर्ब रुपैयाँ छुट्याइएको उनले जानकारी दिए ।
‘गत वर्ष स्वास्थ्य बीमामा अघिल्लो सरकारले १० अर्ब बजेट छुट्याएको थियो। तर, त्यसले नपुगेर म मन्त्री भएर आएपछि ११ अर्ब थप गरेको हुँ,’ उनले भने, ‘यस वर्षको बजेटमा स्वास्थ्य बीमाका लागि ५ अर्ब थपेर १५ अर्ब छुट्याएको छु ।’
स्वास्थ्य बीमामा सरकारको दायित्व निरन्तर बढिरहेको भए पनि त्यसअनुसार नागरिकले सेवा पाएका छन् कि छैनन् भन्ने विषयमा भने प्रश्न रहेको मन्त्री वाग्लेले बताए ।
सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम निरन्तर सञ्चालन भइरहेको उल्लेख गर्दै उनले कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा अध्ययन भइरहेको पनि स्पष्ट पारे ।
