सर्लाही, ०६ भदाै । मधेश प्रदेशमा सवारी साधन दर्ता भन्दा झण्डै तीन गुणा बढी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनेको संख्या देखिएको छ ।

प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रगति विवरणले यस्तो अवस्था देखाएको हो ।

मन्त्रालयका अनुसार गत आर्थिक वर्षमा प्रदेशका विभिन्न यातायात व्यवस्था कार्यालयबाट १ लाख ५ हजार ४५१ वटा सवारी साधन दर्ता भएका छन् ।

सोही अवधिमा विभिन्न वर्गका २ लाख ८० हजार ७६८ वटा सवारी चालक अनुमतिपत्र वितरण गरिएको छ । कार्यालयगत विवरण हेर्दा वीरगञ्जमा सबैभन्दा धेरै सवारी दर्ता भएका छन् ।

पर्साको वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालयबाट गत वर्ष ७३ हजार ६५१ वटा सवारी दर्ता भएको मन्त्रालयले जनाएको छ । त्यसपछि धनुषाको जनकपुरधाममा २० हजार २९४,सिरहाको लहानमा ९ हजार १८१, सप्तरीको राजविराजमा १ हजार ६४१, महोत्तरीको बर्दिबासमा ३५२, रौतहटको गौरमा २१७, बाराको कलैया १७१ र सर्लाहीको मलंगवामा १४४ वटा सवारी दर्ता भएका छन् ।

लाइसेन्स वितरणमा भने लहानस्थित यातायात व्यवस्था कार्यालय अगाडि छ । गत आर्थिक वर्षमा लहानबाट मात्रै ८५ हजार ७६९ वटा लाइसेन्स वितरण भएको विवरणमा उल्लेख छ ।

बर्दिबासबाट ७१ हजार ६६३, कलैयाबाट ४१ हजार ५८९, जनकपुरधामबाट २८ हजार ३९४, मलंगवाबाट १९ हजार ९८२ र राजविराजबाट ११ हजार २४५ वटा लाइसेन्स वितरण भएका छन् ।

गौरबाट भने ५ हजार २९६ वटा लाइसेन्स वितरण भएको छ । सवारी दर्ता र लाइसेन्स वितरणबीच देखिएको ठूलो अन्तरले प्रदेशको यातायात व्यवस्थापनमाथि प्रश्न उठाएको छ ।

मधेश प्रदेशस्थित प्रत्येक यातायात व्यवस्था कार्यालयहरुमा लाइसेन्स खरीद बिक्री भएको हुन सक्ने आशंका बढेको छ । संघीय सरकारले यी कार्यालयहरुमा बिचौलियाविहिन बनाउन कडाई गरेपनि बाहिरी देखावटी रुपमा बिचौलियाविहिन जस्तै छन् । तर कार्यालय अगाडि सञ्चालनमा रहेको फोटोकपी, लेखनदास र विभिन्न इन्स्योरेन्स शाखा कार्यालय मार्फत लाइसेन्स खरीद बिक्री हुँदै आएको श्रोतको दाबी छ ।

यद्यपि सरोकारवालाहरुले लाइसेन्स वितरणको संख्या नयाँ सवारी दर्तासँग मात्र प्रत्यक्ष रूपमा सम्बन्धित नरहेको दाबी गरिरहेका छन् । मन्त्रालयका निमित सचिव रञ्जित यादवले सवारी दर्ताभन्दा लाइसेन्स संख्या बढनु भनेको खरीद बिक्री नै भइरहेको भन्न नसकिने बताए ।

उनले भने गाडी नभएकाले पनि लाइसेन्स लिने सक्नेमा रोक छैन । ठूलो संख्यामा लाइसेन्स वितरण हुँदैमा मात्र अवैध कारोबार भएको निष्कर्ष निकाल्न नसकिने उनको भनाई छ ।

यातायात व्यवस्था कार्यालय महोत्तरीका प्रमुख राकेश यादवले लाइसेन्स लिनमा कुनै क्षेत्र तोकिएको छैन, देशभरिमा कुनैपनि कार्यालयबाट लाइसेन्स लिन सक्ने भएकाले संख्या बढेको हो ।

मधेशको जनसंख्या पनि बढी रहेकाले पनि संख्या बढन् सक्ने हो । तर हाम्रो कार्यालयबाट अवैध खरीद बिक्री नभइरहेको उनको दाबी छ ।

यस्तै यातायात व्यवस्था कार्यालय मलंगवाका राजकिशोर साहले सवारी दर्ताको लागि क्षेत्र तोकिएको र अधिकांश सवारी काठमाडौ, वीरगञ्ज, जनकपुरधाम लगायतका कार्यालयबाट दर्ता हुने भएकाले सवारी दर्ताको संख्या घटेको हो । तर लाइसेन्स वितरणमा क्षेत्र निर्धारण नभएका कारण यसको संख्या बढन गएको हो ।

लाइसेन्स लिनेहरुमा अधिकांश मधेश प्रदेश बाहिरका काठमाडौ र पोखरा लगायतका ठाउँको रहेको श्रोतको भनाई छ । श्रोतले भने काठमाडौ लगायतका ठाउँमा लाइसेन्समा कडाई भएका कारण मधेश प्रदेशका कार्यालयहरुको सहज तरिकाबाट पाउने भएकाले यहाँबाट लिने गरेको हो ।

मन्त्रालयका अनुसार पछिल्लो दुई आर्थिक वर्षमा प्रदेशमा ३ लाख ९ हजार ३०९ वटा विभिन्न वर्गका लाइसेन्स वितरण भएका छन् । आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ५४१ वटा लाइसेन्स वितरण भएकोमा २०८२/८३ मा मात्रै २ लाख ८० हजार ७६८ वटा वितरण भएको विवरणमा उल्लेख छ ।

डिजिटल रूपमा लाइसेन्स वितरणको अभिलेख राख्ने व्यवस्था आर्थिक वर्ष २०८१÷८२ देखि सुरु भएको मन्त्रालयले जनाएको छ ।

यसअघि सवारी चालक अनुमतिपत्रसम्बन्धी डिजिटल अभिलेख केन्द्रीय यातायात कार्यालयबाट राखिँदै आएको थियो । मधेशमा १८ लाखभन्दा बढी सवारी मन्त्रालयको विवरणअनुसार मधेश प्रदेशमा हालसम्म १८ लाख ८० हजार ८४ वटा सवारी साधन दर्ता भएका छन् ।

तीमध्ये सबैभन्दा ठूलो हिस्सा दुईपांग्रे सवारीको छ । प्रदेशमा १३ लाख २२ हजार ८११ वटा मोटरसाइकल दर्ता भएका छन् । मोटरसाइकलको दर्तामा पनि वीरगञ्ज अगाडि छ ।

वीरगञ्जमा १० लाख ७४ हजार ९४७, जनकपुरधाममा २ लाख २५ हजार ७५७ र लहानमा १० हजार ८०३ वटा मोटरसाइकल दर्ता भएको विवरणमा उल्लेख छ ।

बर्दिबासमा ४ हजार ९०६, राजविराजमा ५ हजार १०५, गौरमा ६१२, कलैयामा ३४१ र मलंगवामा ३४० वटा मोटरसाइकल दर्ता भएका छन् ।

त्यसैगरी प्रदेशभरि बस, मिनी बस, ट्रक, मिनी ट्रक, टिपरलगायत ठूला सवारी तथा मेसिनरी औजार १ लाख २७ हजार ४९५ वटा दर्ता भएका छन् ।

यस वर्गमा पनि वीरगञ्जमा सबैभन्दा बढी १ लाख १० हजार ८९३ वटा सवारी दर्ता भएका छन् । टेम्पो तथा अटोरिक्साको संख्या पनि प्रदेशमा उल्लेख्य छ ।

मन्त्रालयका अनुसार १ लाख ५६८ वटा टेम्पो तथा अटोरिक्सा दर्ता भएका छन् । कार, जीप, डेलिभरी भ्यान, माइक्रोबस र एम्बुलेन्सलगायत साना सवारी ७५ हजार ५४४ तथा ट्र्याक्टर र पावर ट्रिलर २ लाख ५३ हजार ६६६ वटा प्रदेशभरि दर्ता भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *