सर्लाही, ०७ भदाै । भारतबाट नेपालतर्फ अवैध रूपमा युरिया मल र खैनी ल्याउँदै गरेका दुई नेपाली नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ ।
भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको अगरवा क्षेत्रमा खटिएको एसएसबीको ७१ औँ वाहिनीको टोलीले शुक्रबार साँझ १९ बोरा युरिया मल, ५० किलो खैनी र चारवटा साइकलसहित दुई नेपालीलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका क्षेत्रका १८ वर्षीय आदित्य नारायण मुखिया र १९ वर्षीय अमिरखा मुखिया रहेका छन् । आदित्य प्रभु मुखियाका छोरा र अमिरखा जयराम मुखियाका छोरा हुन् । दुवै नानसागरा घाटका बासिन्दा रहेको एसएसबीले जनाएको छ ।
एसएसबीका अनुसार उनीहरूलाई अगरवा गाउँनजिक सीमा स्तम्भ नम्बर ३६० बाट करिब २०० मिटर भारततर्फ नेपालमा सामान लैजाने क्रममा नियन्त्रणमा लिइएको हो । बरामद १९ बोरा युरिया मलमा प्रत्येक बोरामा ४५ किलोका दरले कुल ८५५ किलो मल रहेको जनाइएको छ ।
यसैबीच, सोही सीमाक्षेत्रको बडहरवा बोर्डरमा पनि एसएसबीले छुट्टै कारबाही गरेको जनाएको छ । नेपालतर्फ लैजाँदै गरिएको २४ बोरा युरिया मल, एउटा मोटरसाइकल र चारवटा साइकल बरामद गरिएको छ ।
सुरक्षाकर्मीलाई देखेपछि तस्करहरूले सामान छाडेर भाग्न खोजेका थिए । एसएसबी टोलीले पीछा गर्ने क्रममा भारतीय नागरिक बीजबनी गाउँका गोपाल रायलाई पक्राउ गरेको जनाएको छ ।
सीमा क्षेत्रमा अवैध रूपमा सामान ओसारपसार भइरहेको सूचनापछि एसएसबीले निगरानी तथा गस्ती बढाएको जनाएको छ । पछिल्ला दिनमा भारतबाट नेपालतर्फ युरिया मललगायतका सामग्री अवैध रूपमा भित्र्याउने क्रम बढेपछि सीमा क्षेत्रमा सुरक्षा निगरानी थप कडा पारिएको छ ।
पक्राउ परेका व्यक्तिहरू तथा बरामद सामग्रीलाई आवश्यक कानुनी कारबाहीका लागि सीमा शुल्क कार्यालय, मोतिहारीमा बुझाइएको एसएसबीले जनाएको छ ।
