सर्लाही, ०८ भदाै । उदयपुरको बेलका नगरपालिका–५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
सोमबार बिहान पौने १० बजेको समयमा सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को.१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई तत्काल उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा अस्पताल धरान लगिएको थियो ।
उपचारका क्रममा बेलका नगरपालिका–५ की करिब ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार पहिचान नखुलेकी एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
