सर्लाही, ०८ भदाै । सर्लाहीको बरहथवा नगरपालिका–७, तीनघरियामा आज (सोमबार) बिहान एक पुरुष मृत फेला पर्नुभएको छ ।

सोही ठाउँमा किराना पसल सञ्चालन गर्ने बरहथवा नगरपालिका–३, भगवतीपुरका ४६ वर्षीय राजेश्वर पुरी मृत फेला पर्नुभएको हो । पुरीलाई कलभर्टमुनी नालीमा मृत फेला पारिएको प्रहरीले जनाएको छ ।

मृतकका ज्वाइँ सुवास गिरीले ससुरालाई आइतबार रातभर भोज खुवाएर हत्या गरेको आरोप लगाउनुभयो । स्थानीयका अनुसार मृतक राजेश्वर आइतबार राति गाउँकै भोजमा सरिक हुनुभएको थियो ।

पसलको उधारो खाएका मानिसहरु मिलेर ससुराको हत्या गरेका ज्वाइँ सुवासको दाबी छ । उहाँले प्रहरीबाट शङ्कास्पद व्यक्तिमाथि निगरानी तथा खोजतलास नभएको गुनासो गर्नुभयो ।

उहाँले भन्नुभयो, “पसलमा उधारो रहेकाहरुले रातभर भोज खुवाएर हत्या गरेको जस्तो देखिन्छ, शङ्कास्पद व्यक्तिहरुलाई तत्काल पक्राउ गरेर कारवाही गर्न माग गरेका छौँ ।” प्रहरीले भने मृतकको कारण खुल्न नसकेको जनाएको छ ।

मृतक राजेश्वरको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम् डिएसपी गोपीकृष्ण सुवेदीले घटनाको प्रकृति र शवको अवस्था हेर्दा घटना शङ्कास्पद नदेखिएको तर आफूहरुले थप अनुसन्धान गरिरहेको जानकारी दिनुभयो ।

आफैँ घटनास्थलमा पुग्नुभएका डिएसपी सुवेदीले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “घटनास्थलमा म आफै पुगेर आए, राति के–के भएको हो भनेर बुझ्दै छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *