सर्लाही, ०९ भदाै । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गरेको नाडा अटो शो–२०२६ आजदेखि शुरु भएको छ ।
काठमाण्डौ भृकुटीमण्डमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटो शोको उद्घाटन गर्नुभयो । १८ औ संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका नयाँ–नयाँ प्रविधिबारे जानकारी गराईने आयोजकले जनाएको छ ।
२०३२ सालमा स्थापना भएको नाडाले ५० वर्ष पूरा गरी स्वर्ण जयन्ती मनाइरहेको अवसरमा यो प्रदर्शनी आयोजना गरेको हो । प्रदर्शनीमा दुई सयभन्दा धेरै स्टल तथा १५० भन्दा धेरै ब्रान्डहरू रहने आयोजकले जनाएको छ ।
मेलामा २३ वटा चारपाङ्ग्रे (यात्रुवाहक) ब्रान्ड, १७ वटा साना तथा मझौला व्यवसायिक ब्रान्ड र १३ वटा दुईपाङ्ग्रे ब्रान्डहरुको प्रत्यक्ष सहभागिता रहनेछ ।
यसका साथै पाट्र्स, टायर, ब्याट्री, ल्युब्रिकेन्ट्, चार्जिङ पूर्वाधार तथा ग्यारेज उपकरणसम्बन्धी झण्डै ७० वटा कम्पनीका साथै १० वटा बैंक, वित्तीय संस्था तथा बिमा कम्पनीहरु पनि सहभागी छन् ।
आजदेखि शुरु भएको नाडा अटो शो यही १४ गतेसम्म चल्नेछ । यसअघि गएको साउन अन्तिम हप्ता काठमाण्डौको भृकुटीमण्डपमै नाइमा मोबिलिटी एक्स्पो भएको थियो ।
