सर्लाही, ११ भदाै । सर्लाहीको बरहथवा नगरपालिका-१५ पिपराभिट्टामा हसियाले आफ्नै घाँटी काट्दा एक युवक गम्भीर घाइते भएका छन् ।
घाइते हुनेमा स्थानीय २९ वर्षीय रोशन राम रहेका छन् । प्रहरीका अनुसार रामले मानसिक सन्तुलन ठीक नभएको कारण करिब डेढ महिनादेखि औषधि सेवन गर्दै आएका थिए ।
आज (बिहीबार) आफ्नै घरमा घाँस काट्न राखिएको हसियाले रामले आफ्नो घाँटीमा करिब दुई इन्च लामो चोट लाग्ने गरी काटेका थिए । घाइते अवस्थामा उनलाई उनकी बहिनीले फेला पारेपछि तत्काल बरहथवा नगर अस्पताल लगिएको थियो ।
नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि दिउँसो करिब १ः३० बजे वीरगञ्जस्थित नेसनल मेडिकल कलेजतर्फ पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको जनाइएको छ ।
