सर्लाही, १२ भदाै । रसुवागढीबाट तिब्बततर्फको करिब १८ किलोमिटरमाथि ल्हेन्दे खोला थुनिएर बनेको तालले नेपालमा फेरि अर्को जोखिम उत्पन्न गरेको छ । बुधबारको बाढीले ठूलो मानवीय क्षति गरेको छ। यस्तै घर, सडक, पुल, जलविद्युत् आयोजना र व्यापारिक संरचना तहसनहस पारेको छ ।
खोला घट्न नपाउँदै फेरि जोखिम बढेको चिनियाँ जलस्रोत मन्त्रालयले जनाएको भन्दै राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सावधानी अपनाउन भनेको छ ।
चिनियाँ जलस्रोत अधिकारीहरूले बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको बताएका छन्। आगामी तीन दिनमा ३० लाख घनमिटर पानी जम्मा हुने अनुमान छ ।
‘ल्हेन्दे खोलाको बहाव फेरि थुनिएर ० दशमलब ११ वर्गकिलोमिटर क्षेत्रफलको ताल बनेको छ र जुनसुकै बेला बाँध फुटी ठूलो बाढी आउनसक्ने जोखिम अझै रहेको छ,’ प्राधिकरणले भन्यो ।
यति धेरै पानी एकैपटक बग्यो भने नेपालपट्टि के होला ?
प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक दिनेश भट्ट यसले नेपाललाई थप जोखिममा राखेको बताउँछन् ।
‘हिजोको बाढीले अकल्पनीय क्षति गरिसकेको छ, चीनको रिपोर्टले अब आउने बाढी त्यो भन्दा ठूलो भयो भने के होला भन्ने प्रश्न उब्जियो,’ उनले नेपालखबरसँग भने, ‘तीन दिनमा बाँध नफुटेर ५ दिनमा फुट्यो भने के हुन्छ ?’
बुधबार तिब्बतबाट आएको बाढीको गति प्रतिसेकेन्ड १५ मिटर रहेको देखिन्छ ।
जसकारण रसुवागढी, टिमुरे, स्याफ्रुबेसी, वेत्रावती, मैलुङ देवीघाट त्रिशुली लगायतका बजार तहसनहस पारेको थियो ।
मौसमविद् वरुण पौडेल माथि खोला थुनिएर हिजोको बाढी आएको बताउँछन् ।
‘हिमपहिरो आएर खोला थुनिएर ड्याम बन्यो, त्यसपछि तिब्बती क्षेत्रमा फुटेर नेपालतिर प्रवेश गरेको पुष्टि भएको छ,’ उनले भने ।
प्रकोपविद् सूर्यबहादुर थापा बुधबारको बाढीले नै मानवीय र भौतिक क्षति भएको सो ठाउँमा फुट्ने अवस्थाको ताल बनेको भए चिन्तित हुनुपर्ने बताउँछन् ।
‘फेरि त्यो फुट्यो भने त अझै ठूलो नोक्सानी हुन्छ,’ राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपाल डिमानका केन्द्रीय अध्यक्ष समेत रहेका थापाले भने, ‘किनभने हिजोभन्दा अझ बढी खोलाले विध्वंस गर्नसक्छ ।’
प्राधिकरणका निवर्तमान निर्देशक भट्ट ताल फुट्दा खोलाको असर नेपालको निकै तलसम्म पर्न सक्ने अनुमान गर्छन् । प्रकोपविद् थापाले भोलिको अवस्था झन् डरलाग्दो हुनसक्ने बताए ।
‘२० लाख घनलिटर एकैपटक बग्यो भने त कल्पना गर्न नसकिने क्षति हुन्छ । किनकि पहिले नै क्षति भयंकर भइसकेको छ। त्यसमा थपिँदा हुने क्षति अनुमान गर्न सकिँदैन,’ उनले भने ।
अब सरकारले विशेष पहल गर्नुपर्ने उनको भनाइ छ ।
‘अब चीन सरकारसँग कोअर्डिनेसन गर्नुपर्छ, चीनले आफ्ना प्राविधिक सहितको सैन्य टोलीलाई तालको अवस्थाबारे उपकरणसहित पठाइसकेको छ,’ उनी भन्छन्, ‘जमेको ताल एकैचोटि फुटाउने भन्दा बिस्तारैबिस्तारै फुटाएर पानी रिलिज गराउन सके नदीमा प्रेसर कम हुन्छ र हाम्रो भूभाग थप बग्न पाउँदैन । तर सरकारले कूटनीतिक तहमा कुरा गर्नुपर्यो ।’
उनका अनुसार नेपाल बाढी, पहिरो, खडेरी, भूकम्प, शीतलहर र आगलागीसमेतको बहुप्रकोपीय जोखिममा छ। त्यही भएर ‘हाइ अल्टिच्युड अर्ली वार्निङ सिस्टम’ जडान गर्नुपर्ने उनको सुझाव छ ।
‘जबसम्म अर्ली वार्निङ सिस्टम राख्न सक्दैनौँ, तबसम्म तल्ला तहका बस्ती जोगाउन सक्ने क्षमता कम रहन्छ,’ भट्टले भने ।
रसुवासहित नुवाकोट र धादिङमा बेपत्ताको खोजी, घाइतेको उद्धारमा टोलीहरू खटिएका छन् । त्यही बेला माथिल्लो क्षेत्रमा पहिरो खसेर ताल जम्मा भइरहेकोले सावधान हुनैपर्ने विज्ञहरूको भनाइ छ ।
यसका लागि तालको अवस्था निरन्तर निगरानी, पानीको सतह मापन, सम्भावित र तल्लो तटीय क्षेत्रमा तत्काल सूचना सम्प्रेषण गर्नुपर्ने प्रकोपविद् थापाले बताए ।
‘सरकारले कूटनीतिक हिसाबमा चीनसँग समन्वय गरेर क्रस बोर्डर पूर्व सतर्कता प्रणाली जडान गर्नुपर्छ,’ उनले भने, ‘किनभने सम्झौता भइदिएको भए यस्तो विपतको सूचना बेलैमा पाउथ्यौँ ।’
जलवायु परिवर्तनका कारणले भोलिका दिनका पनि यस्ता घटना घट्न सक्ने सम्भावना बढी भएकोले चनाखो हुन उनले सुझाव दिए ।
