सर्लाही, १३ भदाै । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी तथा प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले थप जनशक्तिसहित ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
सशस्त्र प्रहरीले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बेस क्याम्प स्थापना गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ ।
परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकर्मी, मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन टोली, शिविर समन्वय तथा व्यवस्थापन टोली र चिकित्सकसहितको प्राथमिक उपचार टोली खटिएका छन् । भत्किएका संरचनामा खोज तथा उद्धारका लागि छुट्टै ४४ सदस्यीय टोली समेत परिचालन गरिएको छ ।
खोजीकार्यलाई प्रभावकारी बनाउन पाँचवटा ड्रोनसहित विशेष ड्रोन स्क्वाड र सातवटा के–नाइन डग समेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बाढी प्रभावित विभिन्न स्थानमा गोताखोर टोली समेत खटाइएको छ भने थप जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
सशस्त्र प्रहरीले एकल प्रयासबाट ३२ जना र अन्य निकायसँगको संयुक्त प्रयासमा गरी १४७३ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीतटीय क्षेत्रका प्रभावित ४८ वडामा रहेका एक हजार २०० भन्दा बढी विपद् सूचकमार्फत सूचना संकलन गरी उद्धार कार्यलाई व्यवस्थित बनाइएको छ ।
प्रभावित नागरिकका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गर्नुका साथै राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रिय रहेको जनाएको छ ।
घटनाकै दिनदेखि नुवाकोटमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त शिविरबाट हालसम्म १ सय ४३ जनाको उपचार गरिएको छ ।
प्रभावित क्षेत्रमा ऊर्जा आपूर्तिका लागि आठवटा जेनेरेटर, आवश्यक इन्धन, पाँचवटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डरलगायत अत्यावश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ ।
सशस्त्र प्रहरीको एकल प्रयासबाट बाढी प्रभावित क्षेत्रबाट ११० जनाको शव फेला परेको छ जनाइएको छ ।
यस्तै, भोटेकोशी बाढीका कारण नुवाकोटमा फसेका ५९ जनालाई सशस्त्र प्रहरीको सवारी साधनमार्फत काठमाडौं ल्याइएको छ ।
उद्धार तथा सहायताका लागि सशस्त्र प्रहरी बल नेपालको निःशुल्क हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।
