ब्रिक्स सम्मेलनले दिएका ७ सन्देश

Byसदाम हुसैन

२०८३ भाद्र २९, सोमवार २०८३ भाद्र २९, सोमवार २०८३ भाद्र २९, सोमवार

काठमाण्डाै, २९ भदाै । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन् । नेताहरूले विश्वका आर्थिक विकास, व्यापार, ऊर्जा सुरक्षा र अन्तर्राष्ट्रिय सहकार्य लगायतका विषयमा छलफल गरेका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स सदस्य राष्ट्रहरूबिच आपसी सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले ब्रिक्स विश्व जनसंख्याको ठुलो हिस्सा र विश्व अर्थतन्त्रको महत्त्वपूर्ण भाग प्रतिनिधित्व गर्ने समूह भएको बताए ।

मोदीका अनुसार ब्रिक्स राष्ट्रहरूले विश्वको करिब ५० प्रतिशत जनसंख्या, ४० प्रतिशत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) र २५ प्रतिशतभन्दा बढी विश्व व्यापार प्रतिनिधित्व गर्छन् ।

चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र इरानका राष्ट्रपति मसुद पेजेस्कियानलगायत नेताहरू सहभागी सम्मेलनमा विश्वव्यापी आर्थिक वृद्धि र विभिन्न क्षेत्रीय द्वन्द्वका विषयमा छलफल भएको छ ।

समावेशी आर्थिक विकासमा जोड

मोदीले ब्रिक्सको मुख्य शक्ति सदस्य राष्ट्रहरूको विविधता र सहकार्यमा रहेको बताए। फरक राजनीतिक, आर्थिक र सामाजिक अवस्था भएका देशहरू भए पनि साझा सहकार्यबाट सबैले लाभ लिन सक्ने उनले बताए ।

उनले विश्व आर्थिक विकास केही देश वा क्षेत्रसम्म मात्र सीमित नभई सबै देश र जनतासम्म पुग्नुपर्ने बताए ।

ब्रिक्स सन् २००९ मा स्थापना भएको समूह हो । सुरुमा ब्राजिल, रुस, भारत र चीन यसमा थिए भने पछि दक्षिण अफ्रिका सदस्य बनेको थियो । पछिल्लो विस्तारसँगै इरान, साउदी अरेबिया, संयुक्त अरब इमिरेट्सलगायत देश पनि समूहमा जोडिएका छन् ।

ब्रिक्सले पश्चिमी शक्तिको प्रभाव रहेका अन्तर्राष्ट्रिय संस्थाहरूमा विकासशील तथा उदीयमान अर्थतन्त्र भएका देशहरूको आवाज बलियो बनाउन खोजिरहेको छ ।

विश्व अर्थतन्त्रमा आफ्नो प्रभाव बढाउँदै ब्रिक्सले व्यापार, ऊर्जा, वित्तीय सहकार्य र अन्तर्राष्ट्रिय राजनीतिक विषयमा साझा धारणा निर्माण गर्ने प्रयास गरिरहेको छ ।

मध्यपूर्वको बढ्दो तनावप्रति चिन्ता

सम्मेलनको पहिलो दिन भने मध्यपूर्वमा बढिरहेको द्वन्द्व र तनाव प्रमुख विषय बनेको थियो। ब्रिक्सका विदेशमन्त्रीहरू यसअघि मे महिनामा नयाँ दिल्लीमा संयुक्त वक्तव्य जारी गर्न असफल भएका थिए ।

मध्यपूर्वको युद्धबारे सदस्य राष्ट्रहरूको धारणा फरक भएपछि सहमति बन्न सकेको थिएन । तर यसपटक लामो कूटनीतिक प्रयासपछि ब्रिक्स नेताहरूले मध्यपूर्वको अवस्थाबारे संयुक्त धारणा सार्वजनिक गरेका छन् ।

संयुक्त वक्तव्यमा मध्यपूर्व तथा पश्चिम एसियामा बढ्दो तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सबै पक्षलाई ‘अधिकतम संयमता’ अपनाउन आग्रह गरिएको छ ।

भारतले इरान र अमेरिकाको सहयोगी इजरायल दुवैसँग सम्बन्ध कायम राखिरहेको छ। त्यसैले नयाँ दिल्लीले मध्यपूर्वको विषयमा सन्तुलित कूटनीतिक नीति अपनाइरहेको छ ।

रुससँग भारतको ऊर्जा सहकार्य

मध्यपूर्वमा द्वन्द्व बढ्दा विश्वव्यापी ऊर्जा आपूर्तिमा समेत असर पर्ने चिन्ता छ। यस्तो अवस्थामा भारतले रुससँगको ऊर्जा सहकार्यलाई निरन्तरता दिएको छ ।

रुसविरुद्ध युक्रेन युद्धका कारण अमेरिका र अन्य पश्चिमी देशहरूले दबाब तथा प्रतिबन्ध लगाए पनि भारतले आफ्नो ऊर्जा आवश्यकता पूरा गर्न रुसबाट तेललगायत ऊर्जा स्रोत खरिद गरिरहेको छ । यस विषयमा भारतले आफ्नो राष्ट्रिय हित र ऊर्जा सुरक्षालाई प्राथमिकता दिँदै स्वतन्त्र विदेश नीति अपनाएको बताइरहेको छ ।

सीको भारत भ्रमणलाई महत्त्वपूर्ण मानियो

ब्रिक्स सम्मेलनका क्रममा चीनका राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच भएको भेटलाई पनि विशेष महत्त्वका साथ हेरिएको छ ।

सन् २०१९ पछि सीको यो पहिलो भारत भ्रमण हो । चीन र भारतबिच लामो समयदेखि सीमा विवाद तथा रणनीतिक प्रतिस्पर्धा रहेकाले उनको भ्रमणलाई दुई देशबिचको सम्बन्ध सुधारतर्फको महत्त्वपूर्ण कदम मानिएको छ ।

मोदीसँगको भेटमा सीले चीन र भारतबिच धेरै विषयमा फरक धारणा भए पनि दुवै देशले एकअर्काको क्षमता र अनुभवबाट लाभ लिन सक्ने बताए। उनले दुई देशले आपसी सहयोग बढाउँदै साझा विकासतर्फ अघि बढ्नुपर्ने धारणा राखे ।

सीमा विवाद अझै समाधान भएको छैन

चीन र भारतबिचको मुख्य विवादमध्ये एक सीमा विवाद हो । दुई देशबिच करिब तीन हजार ५०० किलोमिटर लामो उच्च हिमाली सीमा छ ।

सन् २०२० मा विवादित सीमाक्षेत्रमा चीन र भारतका सैनिकबीच भएको हिंसात्मक झडपपछि दुई देशबिचको सम्बन्ध थप तनावपूर्ण बनेको थियो । त्यसयता दुवै पक्षले सीमाक्षेत्रमा ठुलो संख्यामा सैनिक तथा सैन्य उपकरण तैनाथ गरेका छन् ।

यद्यपि पछिल्लो समय दुवै देशले सम्बन्ध सुधारका लागि विभिन्न कदम चालेका छन् । हवाई उडान, भिसा सेवा र उच्चस्तरीय भेटघाट पुनः बढ्न थालेका छन् ।

भारतको विदेश मन्त्रालयका अनुसार मोदी र सीले सीमा विवादको निष्पक्ष, उचित र दुवै पक्षलाई स्वीकार्य समाधान खोज्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

व्यापार घाटा र रणनीतिक प्रतिस्पर्धा चुनौती

सम्बन्ध सुधारको प्रयास भए पनि चीन र भारतबिच अझै ठुलो अविश्वास छ । भारतले चीनसँग ठुलो व्यापार घाटा बेहोरिरहेको छ । साथै एसियामा दुवै देशको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका कारण प्रतिस्पर्धा पनि तीव्र छ ।

सीले दुई देशले उच्चस्तरीय वित्तीय सहकार्य बढाउन, समान तथा दिगो विश्व व्यवस्था निर्माण गर्न र खुला एवं समावेशी विश्व अर्थतन्त्रलाई अघि बढाउनुपर्ने बताए ।

ब्रिक्सको बढ्दो विश्वव्यापी भूमिका

यस सम्मेलनले ब्रिक्स अब केवल आर्थिक सहकार्यको समूह नभई विश्व राजनीति र अन्तर्राष्ट्रिय व्यवस्थामा प्रभाव पार्ने महत्त्वपूर्ण मञ्चका रूपमा अघि बढिरहेको संकेत गरेको छ ।

मध्यपूर्वको द्वन्द्व, रुस–युक्रेन युद्ध, ऊर्जा सुरक्षा, व्यापार अस्थिरता र विश्व अर्थतन्त्रजस्ता विषयमा ब्रिक्स राष्ट्रहरूले आफ्नो साझा प्रभाव बढाउने प्रयास गरिरहेका छन् ।

भारतले सम्मेलनको नेतृत्व गर्दै विकासशील देशहरूको आवाज बलियो बनाउन तथा विश्व अर्थतन्त्रलाई थप समावेशी बनाउन ब्रिक्सले महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिएको छ।

नयाँ दिल्लीमा भइरहेको ब्रिक्स सम्मेलनमा आर्थिक सहकार्यसँगै विश्वव्यापी द्वन्द्व, ऊर्जा सुरक्षा, व्यापार र चीन–भारत सम्बन्ध मुख्य विषयका रूपमा देखिएका छन् । (रासस/एएफपी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *