सर्लाही, ०७ माघ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ देशभर ३ हजार ४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन आयोगका अनुसार ६८ राजनीतिक दलबाट २ हजार २९७ र स्वतन्त्रतर्फ १ हजार १८७ जनाको उम्मेदवारी परेको हो । उम्मेदवारमध्ये ३ हजार ८८ पुरुष र ३९५ महिला रहेका छन् ।
१६५ सिटका लागि हुने निर्वाचनअन्तर्गत मंगलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयनपत्र दर्ता गरिएको थियो । उम्मेदवारी दर्ताका लागि नागरिकता वा मतदाता परिचयपत्रसहित १३ प्रकारका कागजात अनिवार्य गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ ।
सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय हुनेछ ।
माघ ८ गते बेलुकी ५ देखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म नाम फिर्ता लिन सकिने र सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन तथा दिउँसो ४ देखि साँझ ७ बजेसम्म निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।
यसैबीच, सर्लाही जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १३९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार क्षेत्र नं. १ मा २९, क्षेत्र नं. २ मा ३१, क्षेत्र नं. ३ मा ३४ र क्षेत्र नं. ४ मा सबैभन्दा बढी ३९ जनाको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दिनेहरूमध्ये ठूलो संख्या स्वतन्त्र भए पनि तीमध्ये धेरैजसो विभिन्न दलका उम्मेदवारले खडा गरेका ‘डमी’ उम्मेदवार भएको बताइएको छ ।
गाडी–घोडा प्रयोग, प्रचार–प्रसारलगायत निर्वाचन आयोगबाट उपलब्ध सुविधा लिन यस्ता उम्मेदवार खडा गर्ने प्रवृत्ति देखिएको जनाइएको छ ।
यसपटक सर्लाहीबाट नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेकपाका शीर्ष नेता नारायणकाजी श्रेष्ठ, राजेन्द्र महतो, महिन्द्र राय यादव, डा. अमरेशकुमार सिंहलगायत राष्ट्रिय राजनीतिका चर्चित नेताहरू चुनावी प्रतिस्पर्धामा रहेकाले यहाँको निर्वाचन परिणामलाई देशभर चासोका साथ हेरिएको छ ।
मधेश प्रदेशमा प्रतिनिधिसभाको ३२ सिटका लागि ५७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
तीमध्ये महिला उम्मेदवार ५३ जना रहेका छन् । मधेश निर्वाचन कार्यालयका अनुसार पर्सामा ३५ पुरुष र ५ महिला, बारामा ६० पुरुष र ९ महिला, रौतहटमा ५९ पुरुष र ६ महिला, सर्लाहीमा ८८ पुरुष र ३ महिला, महोत्तरीमा ७८ पुरुष र ७ महिला, धनुषामा ९५ पुरुष र १० महिला, सिरहामा ६२ पुरुष र २ महिला तथा सप्तरीमा ४१ पुरुष र ११ महिलाले उम्मेदवारी दिएका छन् ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार मंगलबार उम्मेदवारी दर्ता शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ ।

