सर्लाही, १४ माघ । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर–४ नेपाली कांग्रेस सभापति गगन थापाले समेत उम्मेदवारी दिएपछि राष्ट्रिय चर्चामा छ । २०७९ सालको निर्वाचनमा कांग्रेस छाडेर बागी उम्मेदवारी दिएका डा. अमरेशकुमार सिंहले कांग्रेसका आधिकारिक उम्मेदवारलाई नै हराउँदै जित हात पारेका थिए ।
अहिले उनै निवर्तमान स्वतन्त्र सांसद सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनावी मैदानमा छन् । उनले मनोनयन दर्ताको अघिल्लो दिनमात्रै रास्वपा प्रवेश गरेर टिकट हात पारेका हुन् ।
त्यस्तै, नेकपा एमालेबाट अमनिशकुमार यादव, नेपाली कम्युनिस्ट पार्टीबाट रजनीश राय र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामेश्वर राय यादव पनि चुनावी मैदानमा छन् ।
त्यसैगरी, जनमत पार्टीबाट राकेश मिश्र उठेका छन् । यसरी, यो क्षेत्रमा तेस्रो र चौथो हुनेले पनि ८/१० हजार मत ल्याउने गरेकोले यहाँ कुनै दुई उम्मेदवारका बीचमा मात्र होइन, बहुप्रतिस्पर्धा नै हुने गरेको छ ।
अघिल्ला चुनावका आँकडा
कांग्रेसले टिकट नदिएपछि चुनाव चिह्न ‘माछा’ बाट प्रतिस्पर्धामा उत्रिएका सिंह ०७९ सालमा कांग्रेसकै उम्मेदवारलाई १७ सय ६४ मतान्तरले पछि पार्दै विजयी बनेका थिए ।
सिंहले २० हजार १७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । तत्कालीन सत्ता गठबन्धनबाट टिकट पाएका नागेन्द्रलाई तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ थियो ।
तेस्रो मत पाएकी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादव १४ हजार ६२२ मत पाउँदा उनलाई जसपा नेपालका राजेशकुमार मिश्रले ५ हजार ८१३ मतसहित पछ्याएका थिए ।
उक्त चुनावमा रास्वपा उम्मेदवार धिरज ठाकुर ३१८ मत पाएर नवौं स्थानमा पुगेका थिए । निर्वाचन आयोगको तथ्यांकअनुसार, सर्लाही–४ मा अघिल्लो निर्वाचनमा १ लाख १२ हजार ५०० मतदाता थिए ।
तीमध्ये प्रतिनिधिसभा निर्वाचन–२०७९ मा समानुपातिकतर्फ ६४.८४ प्रतिशत अर्थात् ७२ हजार ९३७ मत खसेको थियो । कुल खसेकोमध्ये ३.५५ प्रतिशत अर्थात् २ हजार ५८९ मत बदर हुँदा ७० हजार ३४८ मत सदर भएको आयोगको तथ्यांकले देखाउँछ ।
यस्तै, प्रत्यक्षतर्फ यो क्षेत्रमा कुल मतदाता संख्यामध्ये ६४.७६ प्रतिशत अर्थात् ७२ हजार ८५५ मत खसेकोमा ४.९० प्रतिशत अर्थात् ३ हजार ५७२ मत बदर भएको थियो । आयोगका अनुसार, प्रत्यक्षतर्फ खसेको कुल मतमध्ये ६९ हजार २८३ मत सदर भएको थियो ।
सर्लाही–४ मा पर्ने पालिका र मतसंख्या
७ पालिकाका ५१ वटा वडाहरू समेटिएर बनेको सर्लाही–४ का बनेको छ । यो क्षेत्रमा बरहथवा नगरपालिकाका १, २, ३, ४, १३, १४, र १५ वडाहरू समेटिएका छन् ।
त्यस्तै, बसबरिया गाउँपालिकाका १, २ र ३ नम्बर वडा यस क्षेत्रमा पर्छन् । विष्णु गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडाहरू यस निर्वाचन क्षेत्रभित्र पर्छन् । धनकौल र रामनगर गाउँपालिकाका सबै ७/७ वडाहरूसँगै बलारा र गोडैटा नगरपालिकाका क्रमश: ११ र १२ वटै वडाहरू यस निर्वाचन क्षेत्रमा समेटिएका छन् ।
कति खस्ला भोट ?
निर्वाचन आयोगले १२ पुसमा आफ्नो वेबसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार, यसपालि सर्लाही–४ मा ८ हजार ७३१ मतदाता थपिएका छन् ।
जसअनुसार अब यो क्षेत्रमा मतदाताको संख्या १ लाख २१ हजार २३१ देखिन्छ । गत चुनावमा प्रत्यक्षतर्फ खसेको ६४ दशमलव ६७ प्रतिशत हाराहारी मत खसेको अवस्थामा पनि सर्लाही–४ मा २१ फागुनमा हुने निर्वाचनमा लगभग ७८ हजार ८०० मत खस्न सक्छ ।
गत चुनावकै बदर मत प्रतिशत घटाउँदा यसपालि करिब ७५ हजार मत सदर हुने आकलन गर्न सकिन्छ ।
कांगे्रस सभापति थापाले मनोनयन दर्ता गरेपछि सर्लाही–४ फेरि चुनावी मैदानका प्रमुख ‘हटस्पट’ बनेको छ । अघिल्ला तीन निर्वाचनमा थापाले काठमाडौं–४ बाट प्रत्यक्षतर्फ चुनाव जितेका थिए ।
