सर्लाही, १५ माघ । आसन्न प्रतिनिधिसभा चुनावको ‘इपिसेन्टर’ बनेको झापा–५ मा २१ फागुनपछि कस्तो नतिजा आऊला ? अनुमान र आस्थाका भरमा बहस गर्नेहरूका लागि एउटा राम्रो ‘मसला’ बनेको छ ।
दुई भावी प्रधानमन्त्रीका उम्मेदवार । पार्टीका अध्यक्ष र वरिष्ठ नेता, पुराना र नयाँ नेताको भिडन्तले २१ फागुनको चुनावलाई आवश्यकताभन्दा बढी रोचक र उत्सुक बनाएको छ ।
मुलुकको राजधानी काठमाडौं महानगरपालिकाका मेयर भइसकेका बालेन्द्र शाह (बालेन) चुनाव लड्न किन आए झापा ? यो प्रश्नको उत्तर बिस्तारै भेटिँदै जाला । तर, यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वमेयर बालेनबीचको चुनावी प्रतिस्पर्धाले झापा–५ का मतदाताले ‘दबाब र प्रभाव’को ठूलै सामना गर्नुपरिरहेको छ ।
झापामा सबैभन्दा धेरै उम्मेदवार भएको क्षेत्र पनि ५ नम्बर नै हो । तर, चुनावी चर्चा र आममान्छेको चासो पूर्वप्रधानमन्त्री ओली र भावी प्रधानमन्त्रीको दौडमा रहेका बालेनप्रति नै बढी देखिन्छ ।
ओली र बालेनसहित झापा–५ को चुनावी मैदानमा उत्रिएका २४ जना उम्मेदवारलाई २१ फागुनमा १ लाख ६३ हजार ३७९ मतदाताले मतदान गर्नेछन्, जसमध्ये ९ हजार ९० जना नयाँ मतदाताको भोट पनि यसपटक झापा–५ का लागि महत्त्वपूर्ण बन्नेछ ।
यसका अलवा, झापा–५ को यसपटकको चुनावलाई ‘नेपाल–चीन मैत्री औद्योगिक पार्क’, ‘दमक भ्यु टावर’, ‘आदिवासी रंगशाला’, ‘विश्वकै अग्लो बुद्ध मूर्ति’, ‘दमक सभागृह’, ‘हाटखोलामा सपिङ कम्प्लेक्स’ र पूर्वमा चलिरहेको ‘पहिचानको आन्दोलन’ले नतिजामुखी प्रभाव पार्न सक्ने देखिन्छ ।
नेपाल–चीन मैत्री औद्योगिक पार्क
झापा–५ मा पर्ने दमक र गौरादह नगरपालिका तथा कमल गाउँपालिकामा गरी कुल २२ सय बिघा क्षेत्रफलमा ‘नेपाल–चीन मैत्री औद्योगिक पार्क’ निर्माणको महत्त्वाकांक्षी योजना अघि सारिएको थियो ।
ओली २०७४ सालमा दोस्रोपटक प्रधानमन्त्री बनेपछि औद्योगिक पार्क निर्माणको योजनाले तीव्रता पाएको थियो । २०७७ साल फागुनमा ओलीले भव्य समारोहबीच औद्योगिक पार्कको शिलान्याससमेत गरेका थिए ।
शिलान्यास गरेको तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी लगानी बोर्डले करिब ६५ अर्ब बजेट स्वीकृत गरेको थियो । औद्योगिक पार्क निर्माणको जिम्मा चीनको ल्हासा इकोनोमिक एन्ड टेक्नोलोजी डेभलपमेन्ट जोन जिङपिङ जोइन्ट कन्स्ट्रक्सनले पाएको शिलान्यास कार्यक्रममा जानकारीसमेत दिइएको थियो ।
मुलुककै अर्थतन्त्रको ‘ग्राफ’ परिवर्तन गर्ने उद्घोषसहित निर्माण गरिने भनिएको नेपाल–चीन मैत्री औद्योगिक पार्कको योजना दुई वर्षयता अलपत्रजस्तै बनेको छ ।
३ वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिएको योजनाको समयावधि ६ वर्ष नाघिसक्दासमेत मुआब्जा वितरणको विवाद नै सकिएको छैन् ।
मुआब्जा वितरणमा ठूलो संख्यामा स्थानीय बासिन्दा असन्तुष्ट छन् । औद्योगिक पार्क निर्माणको योजनाप्रति असन्तुष्ट पक्षको असर २०७९ सालको स्थानीय तह चुनावमा पनि देखा परेको थियो ।
एमालेको गढ मानिएको दमक नगरपालिका र पार्क निर्माण हुने भनिएको दमक– १० नम्बर वडामा एमालेइतरका उम्मेदवारले चुनाव जितेका थिए ।
उक्त असन्तुष्टि समाधान गर्न नसके २१ फागुनको चुनावमा पनि एमालेलाई ‘भारी’ पर्न सक्ने औद्योगिक पार्कपीडित संघर्ष समितिका उपाध्यक्ष देवी दाहालले बताए ।
