सर्लाही, १८ माघ । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा सर्लाही क्षेत्र नम्बर २ का उम्मेदवार राजेन्द्र महतोले निर्वाचन तयारीलाई तीव्र बनाउँदै विभिन्न स्थानमा कार्यकर्ता परिचालन र मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको छ ।

शनिबार महतोले सर्लाही–२ अन्तर्गतका विभिन्न पालिकामा पुगेर संगठन सुदृढीकरण, निर्वाचन परिचालन समिति गठन तथा मतदातासँग भेटघाट गर्नुभएको हो ।
भेटघाटका क्रममा उहाँले जनताको चाहनाअनुसार आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम अन्तर्गत कौडेना गाउँपालिका वडा नम्बर १ सुखचैनामा कार्यकर्ता तथा मतदातासँग भेटघाट गर्नुभएको महतोले विष्णु गाउँपालिकामा संगठन सुदृढीकरण गर्दै निर्वाचन परिचालन समिति गठन गर्नुभयो ।

यस्तै ब्रह्मपुरी गाउँपालिका वडा नम्बर ३ भेल्हीमा पनि निर्वाचन परिचालन समिति गठन गर्दै कार्यकर्तालाई सक्रिय रूपमा चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो ।
मलंगवा नगरपालिका वडा नम्बर १२ मा आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष महतोले अधिकार, पहिचान, स्वाभिमान र प्रतिनिधित्वका लागि निरंतर आफुले संघर्ष गर्दै आएको बताउँदै यसपालिको चुनावमा आफ्नो पार्टीलाई मत दिन आग्रह गर्नुभयो ।
मतदातासँग भेटघाट गर्दै उहाँले आगामी निर्वाचनमा आफ्नो ‘जाँतो’ चुनाव चिह्नमा मतदान गर्न अनुरोध गर्नुभयो । साथै मलंगवा नगरपालिकाको निर्वाचन समितिका सदस्यहरूसँग पनि छलफल गर्नुभएको छ ।

नेता महतोले सर्लाही–२ मा आफ्नो उम्मेदवारीलाई बलियो बनाउँदै जनताको विश्वास र समर्थन जुटाउन निरन्तर अभियान जारी राख्ने बताउनुभयो ।
