सर्लाही, १९ माघ । राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय अध्यक्ष तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र महतोले आफ्नो निर्वाचन क्षेत्र सर्लाही २ मा चुनावी अभियानलाई तिव्रता दिनुभएको छ ।

उहाँले स्थानीय तहमा छलफल तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदाता, कार्यकर्ता र समाजका विभिन्न वर्गका व्यक्तिहरूसँग भेटघाट गर्दै आफ्नो एजेन्डा र भावी योजनाबारे स्पष्ट पार्दै आउनुभएको छ ।

आईतबार पनि नेता महतोले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने विभिन्न पाािलकामा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्नुभएको छ । उहाँले विशेषगरी ब्रह्मपुरी गाउँपालिका, कबिलासी नगरपालिका तथा मलंगवा नगरपालिकाका विभिन्न वडाहरूमा पुगेर स्थानीय कार्यकर्ताहरूसँग संगठनात्मक बैठक तथा अन्तरक्रिया गर्नुभएको छ ।

छलफल तथा अन्तरक्रियामा उहाँले आगामी चुनावलाई लक्षित गरी पार्टीको अभियानलाई अझ प्रभावकारी बनाउने विषयमा कार्यकर्तालाई सक्रिय रूपमा जुट्न आग्रह गर्नुभयो ।

नेता महतोले मधेशलगायत पछाडि पारिएका समुदायहरूको पहिचान, सम्मान र हक अधिकारका लागि आफू निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्नुभयो ।

उहाँका अनुसार समानता र समावेशिताको मुद्दा केवल चुनावी नारामा सीमित नभई व्यवहारमै लागू हुनुपर्छ । “हामीले उठाएको आवाज मधेशको मात्र होइन, देशभरका उत्पीडित र सीमान्तकृत समुदायहरूको साझा आवाज हो,” उहाँले कार्यक्रममा बोल्दै भन्नुभयो ।

देशमा व्याप्त भ्रष्टाचार, कुशासन र विकासको अभावप्रति पनि उहाँले गम्भीर चिन्ता व्यक्त गर्नुभयो । विगतदेखि नै आफूहरूले यी विषयमा निरन्तर आवाज उठाउँदै आएको बताउँदै उहाँले अहिले देशभर उठिरहेको असन्तोषको स्वर त्यही संघर्षको निरन्तरता भएको दाबी गर्नुभयो ।

उहाँका अनुसार सुशासन र पारदर्शिता बिना समृद्धि सम्भव छैन, त्यसैले राजनीतिक नेतृत्वले जनताप्रति जवाफदेही बन्नु अत्यावश्यक छ ।

नेता महतोले आफ्नो पार्टीले उठाएका मुद्दा र मागहरू सफल बनाउन जनताको सक्रिय भूमिका अनिवार्य रहेकोमा जोड दिनुभयो ।

“राजनीति केवल नेताहरूको जिम्मेवारी होइन, जनताले पनि आफ्ना अधिकारका लागि सजग र सक्रिय हुनुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले मतदातालाई सचेत भई आफ्नो मतको सही प्रयोग गर्न आग्रह गर्दै लोकतन्त्रलाई बलियो बनाउन सबैको सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो ।

राज्यको विभेदका कारण मधेश क्षेत्र अझै पनि विकासका दृष्टिले पछाडि परेको गुनासो गर्दै उहाँले त्यसविरुद्धको संघर्ष जारी राख्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधारको क्षेत्रमा मधेशले अझै पनि अपेक्षित ध्यान पाउन सकेको छैन । त्यसैले आगामी दिनमा संसद् मार्फत यी विषयलाई प्राथमिकतामा राखेर काम गर्ने उहाँको योजना रहेको बताउनुभयो ।

स्थानीय कार्यकर्ताहरूले पनि नेता महतोको अभियानप्रति उत्साह देखाउँदै घरदैलो कार्यक्रम, युवा भेला र सामुदायिक अन्तरक्रिया कार्यक्रमलाई अझ व्यापक बनाउने बताएका छन् ।

उनीहरूका अनुसार जनताको सहभागिता र समर्थन बढ्दै गएको छ, जसले आगामी चुनावमा सकारात्मक परिणाम ल्याउने विश्वास दिलाएको छ ।

यसरी, सर्लाही क्षेत्र नम्बर २ मा राजेन्द्र महतोको चुनावी अभियान संवाद, सहभागिता र अधिकारको मुद्दालाई केन्द्रमा राख्दै अघि बढिरहेको छ ।

जनतासँग प्रत्यक्ष सम्पर्क र स्थानीय स्तरमै छलफलमार्फत उहाँले आफ्नो राजनीतिक एजेन्डालाई थप सुदृढ बनाउने प्रयास गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *