सर्लाही, १९ माघ । सर्लाहीमा पहिलो पटक बाबु विदेशी तथा आमा नेपाली भएका व्यक्तिलाई प्रचलित कानुनअनुसार अंगीकृत नेपाली नागरिकता प्रदान गरिएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधनको आधारमा लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई आज अंगीकृत नेपाली नागरिकता प्रदान गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी श्री रामुराज कडरीयाले गुप्तालाई अंगीकृत नागरिकताको प्रमाणपत्र प्रदान गर्नुभएको हो । आवश्यक कानुनी प्रक्रिया, कागजात तथा प्रमाण पूरा भएपछि नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यस घटनालाई सर्लाही जिल्लामा नागरिकता सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
नागरिकता प्राप्तिसँगै अब राम मनोहर गुप्ताले नेपालको संविधान र प्रचलित कानुनअनुसार नागरिकका रूपमा प्राप्त हुने अधिकार तथा सुविधाहरू उपयोग गर्न पाउनेछन् ।
