सर्लाही, २० माघ । अमेरिकाले भारतबाट आयात हुने सामानमा लाग्ने भन्सार कर घटाएर १८ प्रतिशतमा झारेको छ। यसअघि उक्त भन्सार २५ प्रतिशत थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र भारतबीच व्यापार सम्झौतामा सहमति भएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत अमेरिका–भारतबीच व्यापार सम्झौता भएको र त्यसअन्तर्गत पारस्परिक भन्सार २५ प्रतिशतबाट घटाएर १८ प्रतिशतमा झारिएको जानकारी दिएका हुन् ।

राष्ट्रपति ट्रम्पको दाबीको केही समयपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।

यद्यपि,मोदीले आफ्नो पोस्टमा व्यापार सम्झौताबारे स्पष्ट उल्लेख नगरी भन्सार दर घटाइएको विषयमा मात्र खुशी व्यक्त गरेका छन् ।

उनले लेखेका छन्,’मेड इन इन्डिया उत्पादनहरूमा लाग्ने भन्सार अब १८ प्रतिशतमा झारिएकोमा खुशी लागेको छ ।’

यसअघि अमेरिकाले भारतले रुसबाट कच्चा तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत भन्सार लगाएको थियो । त्यसपछि भारतमाथि लाग्ने कुल भन्सार दर ५० प्रतिशतसम्म पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *