सर्लाही, २६ माघ । बलिउड अभिनेता सनी देओलको मल्टीस्टारर चलचित्र ‘बोर्डर २’ ले बक्स अफिसमा आफ्नो बलियो पकड कायम राखेको छ । प्रदर्शनको तेस्रो सातामा प्रवेश गर्दा पनि चलचित्रको कमाइमा उल्लेख्य वृद्धि देखिएको छ । 

शुक्रबार २.८५ करोडको व्यापार गरेको चलचित्रले शनिबार ४.२५ करोड भारतीय रुपैयाँ सङ्कलन गर्दै उत्साहजनक पुनरागमन गरेको छ।

शनिबारको कमाइपछि ‘बोर्डर २’ ले भारतीय बक्स अफिसमा मात्रै ३८५.५८ करोडको आँकडा पार गरेको छ । विश्वव्यापी बजारमा भने १६ दिनको अवधिमा यसले ४४० करोड रुपैयाँ कमाएर सन् २०२६ को अहिलेसम्मकै सबैभन्दा सफल चलचित्रको ट्याग भिरेको छ । 

यसक्रममा चलचित्रले बलिउडका ब्लकबस्टर मानिने ‘सैयारा’ (३३७ करोड), ‘बजरंगी भाइजान’ (३२० करोड) र ‘सुल्तान’ (३०० करोड) को लाइफटाइम रेकर्डलाई पछाडि पारेको छ । हाल यो भारतमा सबैभन्दा धेरै कमाउने चलचित्रको सूचीमा १३ औँ स्थानमा पुगेको छ ।

यस वर्ष रिलिज भएका अन्य चलचित्रहरू रानी मुखर्जीको ‘मर्दानी ३’ र धर्मेन्द्रको ‘इक्कीस’ बक्स अफिसमा खासै चल्न सकेनन् । ३२ करोडमा खुम्चिएको ‘मर्दानी ३’ लाई ‘बोर्डर २’ ले निकै पछि छाडिदिएको छ । 

यद्यपि, आगामी फेब्रुअरी १३ मा शाहिद कपुर र तृप्ति डिमरीको ‘ओ रोमियो’ रिलिज हुन लागेकाले ‘बोर्डर २’ को कमाइको रफ्तारमा केही ब्रेक लाग्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *