सर्लाही, २६ माघ । बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रेन्चाइज ‘कृष’ को चौथो भाग ‘कृष ४’ लाई लिएर निराशजनक खबर सार्वजनिक भएको छ ।
लामो समयदेखि प्रतिक्षामा रहेको यो फिल्मको तयारी अहिलेका लागि रोकिएको छ । बजेटका विषयमा अभिनेता ऋतिक रोशन र निर्माता आदित्य चोपडाबिच कुरा नमिल्दा फिल्मको काममा ‘ब्रेक’ लागेको हो ।
बलिउड हंगामाको रिपोर्ट अनुसार ऋतिक रोशन ‘कृष ४’ लाई करिब ५०० करोडको विशाल बजेटमा निर्माण गर्न चाहन्थे । तर, आदित्य चोपडा र उनको टोली भने ३५० करोडभन्दा बढी लगानी गर्न तयार भएनन् ।
दुवै पक्षबिच बजेटका विषयमा लामो छलफल भए पनि कुनै ठोस सहमति निस्कन सकेन । यही विवादका कारण फिल्मलाई अहिलेका लागि ‘होल्ड’ मा राखिएको छ ।
‘कृष ४’ मा ऋतिक रोशन आफैँले निर्देशन गर्ने चर्चा समेत चलेको थियो । अघिल्ला दुई भागले बक्स अफिसमा तहल्का मच्चाएका कारण फ्यानहरू यसको चौथो भागको व्यग्र प्रतिक्षामा छन् ।
आदित्य चोपडासँगको सहकार्य तत्कालका लागि नहुने देखिएपछि ऋतिकले अब अन्य स्टुडियोहरूसँग कुराकानी सुरु गरेका छन् । उनले स्क्रिप्टमा केही परिवर्तन गरेर आफ्नै योजना अनुसार फिल्म अगाडि बढाउने तयारी गरिरहेका छन् ।
बजेटको मुद्दा सुल्झिएपछि मात्र फिल्मको छायांकन र रिलिज मितिबारे नयाँ घोषणा हुनेछ ।
