काठमाडौँ, ०५ फागुन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनबिच आज (मंगलबार) मुम्बईमा भेटवार्ता हुँदै छ ।
यस क्रममा दुई देशबीच ३.२५ लाख करोड रुपैयाँको रक्षा सम्झौतामा हस्ताक्षर हुनेछ ।
यो सम्झौता मूल्यका हिसाबले भारतको सबैभन्दा ठुलो सैन्य खरिद हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
यस सम्झौताअन्तर्गत भारतले ११४ राफेल लडाकु विमान प्राप्त गर्नेछ ।
आजको बैठकमा रक्षा, समुद्री सहयोग, इन्डो-प्यासिफिक रणनीति, उदीयमान प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी मुद्दामा छलफल हुनेछ ।
बैठक दिउँसो ३:१५ बजे मुम्बईको लोक भवनमा हुनेछ ।
साँझ ५:१५ बजे दुई नेताले भारत-फ्रान्स नवप्रवर्तन वर्ष २०२६ को उद्घाटन गर्नेछन् र दुवै देशका उद्योगपति, स्टार्टअप संस्थापक, अनुसन्धान विज्ञ र नवप्रवर्तन नेताहरूलाई सम्बोधन गर्नेछन् ।
भारत भ्रमणका लागि फ्रान्सका राष्ट्रपति म्याक्रोन सोमबार राति नै मुम्बई ओर्लिसकेका छन् । श्रीमतीसहित आएका उनी फेब्रुअरी १७ (आज) देखि १९ (बिहीबार) सम्म भारतको भ्रमणमा रहनेछन् ।
यस अवधिमा उनले दिल्लीमा एआई प्रभाव शिखर सम्मेलनमा पनि भाग लिनेछन् ।
भारतले पाउनेछ २४ सुपर राफेल लडाकु विमान
भारत र फ्रान्सबिचको हुने राफेल सम्झौताको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको यसमा २४ वटा विमान ‘सुपर राफेल’ हुनेछन् ।
यो उन्नत जेटलाई एफ-५ संस्करण भनिएको छ, जुन फ्रान्सेली कम्पनी ड्यासल्ट एभिएसनले बनाउँदै छ ।
हाल भारतीय वायुसेनाको सेवामा रहेका राफेलहरू एफ-३ संस्करण हुन् र जसलाई ४.५-पुस्ताको लडाकु विमान मानिन्छ। यसमा स्टिल्थ सुविधा र आणविक हतियार बोक्ने क्षमता छ ।
नयाँ सम्झौताअन्तर्गत प्राप्त गरिने धेरैजसो जेट एफ-४ संस्करणका हुनेछन्, जुन अझ उन्नत प्रणाली र अपग्रेड प्रविधिले सुसज्जित हुनेछन् ।
एफ-५ राफेललाई युरोपेली मापदण्डअनुसार अझ उन्नतका रूपमा वर्गीकरण गरिएको छ। हाल यी विमान विकासकै चरणमा छन् । योजनाअनुसार एफ-४ जेटको डेलिभरी सन् २०२८-२९ मा सुरु हुनेछ। एफ-५ वा सुपर राफेल भने २०३० पछि प्राप्त हुनेछन् ।
यो सम्झौतासँगै भारत फ्रान्स र यस्ता उन्नत क्षमता भएका राफेल लडाकु जेट भएका देशको समूहमा सामेल हुनेछ । यसलाई वायुसेनाको शक्ति र प्रविधि स्तर दुवैमा ठूलो वृद्धि मानिन्छ ।
