सर्लाही, ०७ फागुन । सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–४ ढाँका बोर्डर नाम भएकाे टोलमा एक निर्माणाधीन मन्दिर परिसरमा पेस्तोल पड्किँदा एक बालक घाइते भएका छन् ।
मलंगवा–४ मा बस्ने रामविश्वास रामका १५ वर्षीय छोरा आकाश रामले घरदेखि करिब १०० मिटर पूर्वतर्फ रहेको निर्माणाधिन हनुमान मन्दिरको भित्र कुनामा रातो कपडाले बेरी राखिएको वस्तु फेला पारेका थिए ।
उक्त वस्तु खोली हेर्दा पेस्तोल जस्तो देखिएपछि नक्कली ठानेर चलाउने क्रममा पेस्तोल अचानक पड्किएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।
पेस्तोल पड्किँदा आकाश रामको दाहिने हातको पञ्जामा गोली लागेको प्रहरीले जनाएको छ । घटनापछि खटिएको प्रहरी टोलीले घाइतेलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएको छ । अस्पताल स्रोतका अनुसार उनको अवस्था मध्यम रहेको छ ।
घटनास्थलमा पड्किएको पेस्तोलमा खोका अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उक्त हतियार कसले र किन त्यहाँ राखेको भन्ने विषयमा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
