सर्लाही, ०८ फागुन । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ तथा होली पर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीको अगुवाइमा सुरक्षा निकाय र होटल तथा पर्यटन व्यवसायीबीच समन्वयात्मक बैठक सम्पन्न भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख तथा होटल तथा पर्यटन व्यवसायी संघ सर्लाहीका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
बैठकले निर्वाचनको सुरक्षा संवेदनशीलता र होली पर्वको मर्यादा कायम राख्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।बैठकका निर्णयअनुसार जिल्लाभरका सबै होटल व्यवसायीहरूले मौन अवधिभर मदिराजन्य पदार्थको बिक्री तथा वितरण पूर्णरूपमा बन्द गर्ने भएका छन् ।
मौन अवधि २०८२ फाल्गुन १८ गते राति १२ बजेदेखि २०८२ फाल्गुन २१ गते राति १२ बजेसम्म लागू हुनेछ ।त्यस्तै, मिति २०८२ फाल्गुन १५ गतेदेखि २०८२ फाल्गुन १८ गतेसम्म होटलहरू साँझ ८:३० बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय गरिएको छ ।
बैठकबाट भएका निर्णयहरूको कार्यान्वयनमा उपस्थित पदाधिकारीहरूले स्वयं जिम्मेवारी लिने र होटल तथा पर्यटन व्यवसायमा संलग्न सम्पूर्ण व्यवसायीलाई सूचना सम्प्रेषण गर्ने सहमति पनि गरिएको छ ।
यसैगरी, जिल्लामा अनधिकृत रूपमा सञ्चालनमा रहेका मदिरा पसलहरूमा सर्च अभियान सञ्चालन गरी बन्द गर्ने तर्फ प्रशासनले आवश्यक पहल गर्ने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन र चाडपर्वको समयमा शान्ति सुरक्षालाई प्राथमिकतामा राख्दै सबै व्यवसायी तथा सर्वसाधारणलाई नियमको पालना गर्न आग्रह गरेको छ ।
