सर्लाही, ११ फागुन । पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सडकबाट करिब ३ सय मिटर तल नदीमा खसेको उक्त बसमा दुर्घटनाका बेला कम्तीमा ४६ जना यात्रु सवार रहेको अनुमान गरिएको छ ।
घटनास्थलमा रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेका अनुसार दुर्घटनाको समयमा बसमा ४६ जना यात्रु रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । उनले खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी रहेको बताए ।
दुर्घटनास्थलबाट डुंगाको सहायताले यात्रुहरूलाई नदी किनारको बगरमा ल्याएर त्यहाँबाट एम्बुलेन्समार्फत अस्पताल पठाउने काम भइरहेको छ ।
उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली खटिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन बेस आदमघाटबाट डीएसपी सुनिल गिरीको नेतृत्वमा टोली परिचालन गरिएको छ भने विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट गोताखोरसहितको विशेष टोली समेत घटनास्थलमा खटिएको छ । प्रमुख जिल्ला अधिकारीसहितको प्रशासनिक टोली पनि स्थलमै रहेर उद्धार तथा समन्वय गरिरहेको छ ।
मृतक तथा घाइतेहरूको सनाखत हुन सकेको छैन । उद्धार कार्य जारी रहेकाले मृतक र घाइतेको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ ।
