सर्लाही, १५ जेठ । संयुक्त राष्ट्रसङ्घले आउँदो ५ वर्ष विश्वका लागि थप तातो, थप जोखिमपूर्ण र नयाँ तापक्रम रेकर्डहरू कायम हुने समय बन्न सक्ने चेतावनी दिएको छ ।
राष्ट्रसङ्घ अन्तर्गतको मौसम तथा जलवायु निकायले सन् २०२६ देखि २०३० सम्म विश्वव्यापी औसत तापक्रम अहिलेको रेकर्डस्तरमै वा त्यसको नजिक रहने प्रबल सम्भावना रहेको बताएको समाचार संस्था एएफपीले जनाएको छ ।
विश्व मौसम विज्ञान सङ्गठन (डब्ल्यूएमओ) का अनुसार सन् २०२६–२०३० को पाँच वर्षे औसत तापक्रम सन् १८५०–१९०० को पूर्वऔद्योगिक औसतभन्दा १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने सम्भावना ७५ प्रतिशत रहेको छ । यसले विश्व जलवायु सङ्कट अझ गहिरिँदै गएको सङ्केत गरेको सङ्गठनको निष्कर्ष छ ।
अहिलेसम्म अभिलेख गरिएका सबैभन्दा तातो ११ वर्ष सन् २०१५ यतामात्रै देखिएका छन् । डब्ल्यूएमओले यो क्रम अझै रहने अनुमान गर्दै सन् २०३१ अगाडि नै नयाँ ‘सबैभन्दा तातो वर्ष’ घोषणा गर्नुपर्ने अवस्था आउन सक्ने जनाएको छ ।
यो प्रतिवेदन सार्वजनिक भइरहँदा पश्चिमी युरोप पनि असामान्य गर्मीको चपेटामा परेको छ । बेलायत र फ्रान्समा मे महिनाकै तापक्रम रेकर्डहरू तोडिएका छन् भने पश्चिमी युरोपका विभिन्न क्षेत्र ‘तातो गुम्बज’ भनिने उच्च तापीय प्रणालीको प्रभावमा परेका छन् ।
डब्ल्यूएमओका अनुसार सन् २०२६ र २०३० बीचको कम्तीमा एक वर्षले सन् २०२४ लाई उछिन्दै इतिहासकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना ८६ प्रतिशत रहेको छ ।
यसबीच जलवायु चक्रसँग जोडिएको ‘एल निनो’ प्रभावले तापक्रम थप बढ्न सक्ने अनुमान छ । डब्ल्यूएमओको ‘ग्लोबल एन्युअल–टु–डिकेडल अपडेट’ का प्रमुख लेखक लियोन हर्मनसनले सन् २०२६ को अन्त्यतिर ‘एल निनो’ विकास हुने पूर्वानुमान गरिएको बताउनुभयो । उहाँका अनुसार त्यसको प्रभावले सन् २०२७ लाई अर्को कीर्तिमानी तातो वर्ष बनाउने सम्भावना अझ बढाउन सक्छ ।
यसअघिको ‘एल निनो’ घटनाले सन् २०२३ लाई अभिलेखमा दोस्रो सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो भने सन् २०२४ को तापक्रम पूर्वऔद्योगिक औसतभन्दा १.५५ डिग्री सेल्सियसमाथि पुगेको थियो ।
‘एल निनो’ एउटा प्राकृतिक जलवायु प्रक्रिया हो जसले मध्य तथा पूर्वी भूमध्यरेखीय प्रशान्त महासागरको सतही तापक्रम बढाउँछ । यसको प्रभावले विश्वभर हावाको गति, मौसमको अवस्था र वर्षाको ढाँचामा उल्लेखनीय परिवर्तन देखिन्छ । यो चक्र सामान्यतया प्रत्येक २ देखि ७ वर्षको अन्तरालमा देखिने र झन्डै ९ देखि १२ महिनासम्म रहने गर्छ ।
सन् २०१५ को पेरिस जलवायु सम्झौताले विश्व तापक्रम वृद्धिलाई पूर्वऔद्योगिक स्तरभन्दा २ डिग्री सेल्सियसभन्दा तल, सम्भव भएसम्म १.५ डिग्री सेल्सियसभन्दा कममा सीमित गर्ने लक्ष्य तय गरेको थियो ।
यी लक्ष्यहरू मानव समाजले ठूलो मात्रामा कोइला, तेल र ग्यास जलाउन शुरू हुनुअघिको सन् १८५०–१९०० को औसत तापक्रमलाई आधार मानेर निर्धारण गरिएका हुन् ।
यिनै जीवाश्म इन्धनबाट निस्कने कार्बनडाइअक्साइडलाई जलवायु परिवर्तनको प्रमुख कारण मानिन्छ ।
प्रतिवेदनले आर्कटिक क्षेत्रमा तापक्रम वृद्धि विश्व औसतभन्दा धेरै तीव्र हुने चेतावनी पनि दिएको छ । आउँदो पाँच उत्तरी गोलार्धीय जाडो मौसम (नोभेम्बरदेखि मार्चसम्म) मा आर्कटिकको तापक्रम सन् १९९१–२०२० को औसतभन्दा झन्डै २.८ डिग्री सेल्सियस धेरै रहने अनुमान छ । यो त्यही अवधिको विश्वव्यापी औसत तापक्रम वृद्धिभन्दा तीन गुणाभन्दा धेरै हो ।
प्रतिवेदनले सन् २०२६ देखि २०३० सम्म मेदेखि सेप्टेम्बरसम्मको वर्षा ढाँचामा पनि ठूलो क्षेत्रीय अन्तर देखिन सक्ने जनाएको छ । त्यसअनुसार साहेल क्षेत्र, उत्तरी युरोप, अलास्का र साइबेरियामा सामान्यभन्दा धेरै वर्षा हुने सङ्केत देखिएको छ भने अमेजन क्षेत्रमा असामान्य सुक्खापन कायम रहने पूर्वानुमान छ ।
