सर्लाही, २७ साउन । सर्लाही सदरमुकाम मलंगवामा रहेकाे कारागार कार्यालयमा क्षमता भन्दा दोब्बर बढी कैदीबन्दी राख्नुपर्दा व्यवस्थापनमा समस्या पर्न थालेको छ । कारागार कार्यालय मलंगवाको १६० जना पुरुष र ५० जना महिला कैदी राख्ने क्षमता रहेको छ तर अहिले कारागारमा ३३३ जना पुरुष र ३८ जना महिला कैदीलाई राखिएको निमित्त कारागार प्रशासक असरफ हुसेन गद्धीले जानकारी दिए । ३८ जना महिला कैदीसँग उनीहरुको पाँच जना बालबालिका पनि छन् ।

निमित्त कारागार प्रशासक हुसेनका अनुसार कारागारमा पुरुष कैदीबन्दी कारागारको क्षमता भन्दा १७७ जना बढी छन् । कारागारको क्षमता भन्दा बढी कैदीबन्दी रहेकाले बस्न र सुत्न समस्या रहेको रहेको छ ।

कैदीबन्दी बढी भएपछि बरण्डा, सिँढी र पाल टागेर सुताउनुपर्ने अवस्था रहेको निमित्त कारागार प्रशासक हुसेनको भनाइ छ । उनले भने, “ठाउँ सानो भएकाले बढी कैदी भएपछि धेरै गर्मी भएको दिन पाल टाँगेर बाहिरै पनि सुताउने गरेका छौँ ।”

महिला कैदीबन्दी कारागारको क्षमता भन्दा कम भएकाले समस्या नरहे पनि पुरुष कैदीबन्दीलाई व्यवस्थापन गर्न असाध्य समस्या पर्न थालेको कारागार प्रशासनले जनाएको छ । मलंगवा कारागारमा सर्लाहीसहित रौतहट, महोत्तरी, बारा, सिन्धुली, सिरहा, सप्तरीसहित २० भन्दा बढी जिल्लाका कैदीबन्दीलाई राखिएको छ ।

कारागारका कैदीबन्दीका अगुवा एवं चौकीदार मनोजकुमार चौधरीले ठाउँ कम भएकाले आवासिय समस्या रहेको गुनासो गरेका छन् । “हामीलाई अरु त समस्या छैन तर ठाउँ साँघुरो भएकाले बस्न र सुत्न सकस छ,” चौकीदार चौधरीले भने, “ठाउँ नभएकाले भित्र कुनै खेल खेल्न र हिँड्डुल गर्न सक्ने अवस्था छैन् ।”

कारागारभित्र कैद भुक्तान गरिरहेका कैदीबन्दीले गलैचाँ बुन्ने, सिलाइकटाइ गर्ने र मुढा बनाउने काम गरिरहेका छन् । कैदीबन्दीका नेतृत्वकर्ता चौधरीले कैलाली कारागारमा सिर्जना भएको जस्तो मलंगवामा नरहेको उनले बताए ।

मलंगवा कारागारमा अहिले प्रहरी नायब निरीक्षक (सइ) को नेतृत्वमा प्रहरी तैनाथ रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *