सर्लाही, ८ असार । चितवनको गेष्टहाउस चौरमा घण्टी बज्यो । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन औपचारिक रूपमा सुरु भयो ।

मञ्चमा थिए देशका प्रमुख राजनीतिक दलका नेताहरू नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुन, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतका नेता अगाडिको पङ्तिमा बसेका थिए ।

आयाेजक पार्टीका प्रमुख दुई नेताहरुकाे प्रतिक्षामा पाहुनाहरुले एक घन्टाभन्दा बढी प्रतिक्षा गर्नुपरेकाे थियाे ।

रवि र बालेन एकसाथ कार्यक्रम स्थल प्रवेश गरे । उद्घाेषकले उनीहरुलाई घन्टी बजाएर महाधिवेशन उद्घाटन गर्न आग्रह गरे । सबै अतिथि नेताहरुकाे अगाडि पनि घन्टी राखिएका थिए ।

बालेनले गगन थापा, सिके राउतलगायतलाई आफै‌ंले घन्टी दिएर बजाउन लगाएकाे राेचक द‍ृष्य देखियाे । गगन थापाहरुले टिनटिन घन्टी बजाइरहँदा कार्यकर्ताले स्वाद माने ।

आफ्नाे स्वभाव र शैली विपरीत बालेन आज कार्यक्रम अवधिभरि धैर्यतापूर्वक मञ्चमा बसे । यतिमात्र हाेइन, उनले ‘लामाे’ भाषण पनि गरे ।

बालेनले आज गरेकाे करिब १० मिनेटकाे भाषण सम्भवत राजनीतिक जीवनकै सबैभन्दा लामाे हुन सक्छ । भाषणमा उनले पछिल्लाे समय आफूमाथि उठिरहेका केही प्रश्नकाे जवाफ दिएका छन्, जसका लागि संसदमा प्रतिपक्षीहरुले आवाज उठाइरहेका थिए ।  

उनले पुराना दलहरू, विगतका सरकारहरू र स्थापित राजनीतिक संस्कारमाथि प्रश्न उठाए । सत्ता सञ्चालनको पुरानो शैलीमाथि कटाक्ष गरे । परिवर्तनको आवश्यकता दोहोर्‍याए ।

बालेनकाे दुर्लभ भाषणमा ताली बजिरह्यो । कार्यकर्ताहरू उत्साहित भइरहे ।  तर मञ्चको अगाडिको पङ्ति अपेक्षाकृत शान्त थियो । अतिथि नेताहरू मुस्कुराइरहेका थिए ।  उनीहरूका अनुहारमा सहजता र संयम देखिन्थ्यो ।

बालेनपछि माइक सम्हालेका सभापति रवि लामिछानेको स्वर फरक थियो । उनले उपस्थित सबै दलका नेताहरूलाई धन्यवाद दिए । राजनीतिक प्रतिस्पर्धा र राजनीतिक शत्रुताबीच फरक हुने बताए । लोकतन्त्रमा संवाद, सहकार्य र सम्मानको संस्कार आवश्यक रहेको उल्लेख गरे ।

शुभकामना दिनेक्रममा दलका प्रतिनिधिहरुले रास्वपालाई लोकतन्त्रका स्थापित मान्यता सम्झाएका थिए । इतिहाससँगै राजनीतिक संस्कार सुझाएका थिए । कांग्रेस सभापति गगन थापाले रास्वपाससँग सहकार्य र खबरदारी दुवै रहने बताउँदा एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रियता, परराष्ट्र नीति र लोकतन्त्रप्रति संवेदनशील हुन आग्रह गरे । नेकपाका नेता वर्षमान पुनले संविधानको सीमाभित्र रहेर परिवर्तनको राजनीति गर्न सुझाव दिए । सिके राउतले लोकतान्त्रिक रूपान्तरणलाई संस्थागत गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

बालेनको आक्रामकता र आत्मविश्वास 

बालेन शाहको सम्बोधनल‍े उद्घाटन सत्रको माहाेल नै बदलिदियो । भाषणकाे त्यति अभ्यास नभएका उनी प्रधानमन्त्री भन्दा पनि विपक्षीजस्ता सुनिए ।  ‘बोल्दिनँ भन्छु, तर बोल्ने दिन आइहाल्छ’ भन्दै सुरु भएको उनको भाषण स्थापित दलप्रति असन्तुष्टि, विगतका सरकारप्रति आलोचना र पुरानो राजनीतिक संस्कारमाथिको प्रहारमा केन्द्रित रह्यो ।

बालेनले आफ्नाे सरकारमाथि लागेका आराेपहरुमा बचाउ गर्न खाेजे । अख्तियारकाे प्रसङ्गमा उनले ५ घन्टा हाेइन ५ वर्ष पनि राख्न सक्छौँ भनेर अनावश्यक दम्भ देखाए । प्रदीप ज्ञवालीले सरकारले ‘एक्सिलेटर’ मात्र हाेइन ब्रेक पनि थिच्न जान्नुपर्छ भन्ने सुझाव दिँदा उनले कडा जवाफ दिए । याे सरकार एक्सप्रेस गाडी जस्तै भएकाले गन्तव्यमा पुगेपछि मात्रै राेकिने उनकाे भनाइ थियाे ।

सीमा विवादबारे दिएकाे अभिव्यक्तिमा उठेका सवालहरुलाई लिएर बालेनले अधुराे जवाफ दिए । उनले ब्रिटिशकाे मध्यस्थता आफूले नखाेजेकाे बताए । तर, नेपालले पनि भारतकाे सीमा मिचेकाे भन्ने आफ्नाे अभिव्यक्तिलाई सच्याउन चाहेनन् । अख्तियार, सीमा विवाद, सुकुम्वासी समस्या पुराना दल र राज्यका संस्थाप्रति टिप्पणी गर्दा बालेनले प्रधानमन्त्रीकाे रुपमा अलिकति नरम र सन्तुलित लवज अपेक्षित थियाे । यद्यपि सकेसम्म सार्वजनिक कार्यक्रममा बाेल्नै नचाहने र आफूमाथि उठेका प्रश्नहरुलाई महत्व नदिने बालेनले कम्तिमा आज जवाफ दिने प्रयास भने गरे ।

सम्हालिए रवि–देखाए परिपक्व छवि

बालेनभन्दा विपरीत सभापति रवि लामिछाने सन्तुलित भाषामा देखिए, जो महाधिवेशनका लागि सुखद् पक्ष बन्न पुग्यो । बालेनको भाषणपछि केही गर्माएकाे माहाेललाई रविले सहज बनाउने प्रयास गरे । उनले आफ्नो सम्बोधनको सुरुवात नै उपस्थित अतिथि नेताहरूलाई धन्यवाद दिँदै गरे । प्रतिस्पर्धा र शत्रुताबीच फरक हुने स्मरण गराए । लोकतन्त्र संवाद, सहकार्य र असहमतिलाई सम्मान गर्ने प्रणाली भएको बताए ।

रविको भाषणमा आक्रोशभन्दा जिम्मेवारीपन बढी सुनिन्थ्यो । उनले पार्टी स्थापनाका दिन सम्झिए । सङ्घर्षका दिन सम्झिए । विभिन्न राजनीतिक र व्यक्तिगत उतारचढावको प्रसङ्ग पनि उठाए । तर त्यसलाई आत्मदया वा आत्मप्रशंसाको विषय बनाएनन् । बरु त्यही अनुभवबाट पार्टीलाई संस्थागत बनाउने प्रतिबद्धता दोहोर्याए । उनको एउटा सन्देश स्पष्ट थियो–रास्वपा अब केवल विरोधको शक्ति होइन, शासनको जिम्मेवारी बोकेको राजनीतिक शक्ति पनि हो ।

उनले प्रतिपक्षी दलहरूप्रति पनि अपेक्षाकृत नरम र समन्वयकारी सन्देश दिए । देश रास्वपाको नेतृत्वमा दुर्घटनातर्फ नजाने दाबी गर्दै उनले प्रतिपक्षी दलहरूलाई खबरदारी गर्न, आलोचना गर्न र आवश्यक सुझाव दिन आग्रह गरे । लोकतन्त्र बलियो हुन सत्तापक्ष मात्र होइन, प्रतिपक्ष पनि बलियो हुनुपर्ने उनको तर्क थियो । जो परिपक्व राजनीतिक अभिव्यक्ति थियो ।

रविले आफ्नै पार्टीभित्रका चुनौतीलाई पनि सार्वजनिक रूपमा स्वीकार गरे । कार्यकर्तालाई आडम्बर नपाल्न आग्रह गरे । विगतका राजनीतिक दलहरूमा देखिएका गुट–उपगुटका अनुभवबाट सिक्नुपर्ने बताए । पार्टीभित्र त्याग र बलिदानको विषयमा फरक बुझाइ हुन सक्ने भन्दै सचेत रहन आग्रह गरे ।

‘त्याग अरूले गर्दा राम्रो लाग्ने, आफूले गर्दा गाह्रो लाग्ने प्रवृत्तिबाट जोगिनुपर्छ’, भन्ने उनको सन्देश केवल कार्यकर्तालाई मात्र होइन, महाधिवेशनमा उपस्थित नेतृत्वपंक्तिलाई समेत लक्षित देखिन्थ्यो । उनले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीभित्र बाँकी रहेका असन्तुष्टि र वैमनस्यता अन्त्य गर्ने अवसरका रूपमा प्रस्तुत गरे । उनले दलहरु कमजोर हुँदा लोकतन्त्र कमजोर हुने भन्दै कांग्रेस र एमालेभित्रको समस्याप्रति चिन्ता प्रकट गर्दै पहिलो दलको सभापति हुनुको चरित्र प्रस्तुत गरे । रविको भाषण सुन्दा लाग्थ्यो–उनी रास्वपालाई आन्दोलनको ऊर्जा जोगाउँदै संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्न चाहन्छन् ।

रास्वपाकाे भावि परिदृश्य

महाधिवेशनको उद्घाटन सत्रमा देखिएको दृश्यलाई केवल दुई भाषणको अन्तर भनेर बुझ्दा अपुग हुन्छ । त्यो रास्वपाभित्र विकसित हुँदै गरेका दुई राजनीतिक प्रवृत्तिको सङ्केत पनि हो । एकातिर बालेन्द्र शाह छन्, उनको भाषामा कडापन झल्किन्छ । पुरानाे राजनीतिक संरचना भत्काउने संकल्प देखिन्छ । अर्काेतिर रवि छन् । उनको भाषामा संस्था निर्माणको चिन्ता देखिन्छ । पार्टीलाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्ने सोच देखिन्छ । संवाद, सहकार्य र व्यवस्थापनको सन्देश भेटिन्छ ।

बालेन असन्तुष्टको प्रतिनिधिका रुपमा उदाउँदै गर्दा रवि मुलुकको अनिवार्य विकल्पको प्रतिनिधिका रुपमा परिचय बनाउन खोजेको प्रष्ट हुन्छ ।  रास्वपाको पहिलो महाधिवेशनले कम्तीमा यति सङ्केत भने गरेको छ–पार्टीको आगामी यात्रा केवल सङ्गठन विस्तार, नेतृत्व चयन वा चुनावी सफलताले मात्र निर्धारण गर्ने छैन । आन्दोलनको आवेग र संस्थागत राजनीतिको जिम्मेवारीबीच सन्तुलन कसरी मिलाइन्छ, त्यसले पनि रास्वपाको भविष्य तय गर्नेछ ।

सत्ता प्राप्त गरेपछि विद्रोह पर्याप्त हुँदैन । शासन पनि दिनुपर्छ । र आज चितवनको मञ्चमा यी दुई आवश्यकता एकैसाथ देखिएका थिए ।  महाधिवेशनमा सहभागी रास्वपाजनले बिर्सनै नहुने कुरा के हो भने–आन्दोलनले पार्टी जन्माउन सक्छ । तर संस्था निर्माण गर्न आन्दोलन मात्र पर्याप्त हुँदैन ।

नेपालको राजनीतिक इतिहासमा धेरै आन्दोलनकारी शक्ति उदाए । जनआक्रोश बोक्दै आए । स्थापित दलविरुद्ध जनमत पनि पाए । तर तीमध्ये धेरै संस्था बन्न सकेनन् । कारण एउटै थियो–उनीहरू विद्रोहको भाषाबाट शासनको भाषामा रूपान्तरण हुन सकेनन् । रास्वपाको अगाडि पनि आज त्यही चुनौती उभिएको छ ।

बालेनको शैलीले भीड तान्न सक्छ । असन्तुष्टिको प्रतिनिधित्व गर्न सक्छ । पुराना दलप्रति जनतामा रहेको वितृष्णालाई आवाज दिन सक्छ । तर कुनै पनि राजनीतिक शक्ति केवल असन्तुष्टिको प्रतिनिधि भएर दीर्घकालीन रूपमा टिक्न सक्दैन । राष्ट्रिय शक्ति बन्न उसले विश्वास दिनुपर्छ । सहकार्य गर्नुपर्छ । संस्था निर्माण गर्नुपर्छ । विरोध मात्र होइन, विकल्प पनि दिनुपर्छ ।

यही कारण चितवनको मञ्चमा रविको शैली बढी राजनीतिक देखियो । उनी प्रतिद्वन्द्वीलाई गाली गरेर होइन, प्रतिस्पर्धीलाई साथमा राखेर अगाडि बढ्न खोजिरहेका छन् । आन्दोलनको ऊर्जा जोगाउँदै संस्थागत शक्ति निर्माण गर्न खोजिरहेका छन् । सायद आजको नेपाली राजनीतिलाई बालेनहरूको भन्दा रविहरूको पनि आवश्यकता छ ।

विद्रोहले ढोका खोल्छ । तर त्यस ढोकाबाट राष्ट्रलाई अगाडि डोर्याउने काम अन्ततः संस्थागत राजनीतिक नेतृत्वले नै गर्छ । रास्वपाको पहिलो महाधिवेशनले यही संकेत दिएको छ–पार्टीको भविष्य केवल आन्दोलनको आवेगमा होइन, त्यस आवेगलाई संस्थामा रूपान्तरण गर्ने क्षमतामा निर्भर हुनेछ । बालेनले परिवर्तनको कारण सम्झाउँछन्, रविले त्यस परिवर्तनलाई दिशा दिने प्रयास गर्छन् । र राजनीतिमा अन्ततः दिशा, केवल असन्तुष्टिभन्दा बढी महत्वपूर्ण हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *