सर्लाही, १६ असार ।  प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले बोक्सी कुप्रथा अन्त्यका लागि घटना घटिसकेपछि मात्र होइन, त्यसअघि नै गाउँगाउँमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

मङ्गलवार जनकपुरधाममा ‘मान्छे कहिल्यै बोक्सी हुँदैन’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालद्वारा आयोजित जनचेतनामूलक कार्यक्रम तथा वृत्तचित्र प्रदर्शनलाई सम्बोधन गर्नुहुँदै उपसभामुख ठाकुरले बोक्सीका नाममा हुने अमानवीय व्यवहार अन्त्य गर्न सबै तहबाट सचेतना अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । उहाँले अभियानलाई अझ प्रभावकारी बनाउन सङ्घीय सरकारसँग आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा बोक्सीको आरोपका कारण पीडित बनेका दुई महिलालाई सम्मान गरिएको थियो । जनकपुरधाम उपमहानगरपालिका–१५ की वडा सदस्य शिला दास र जनकपुरधाम-२५, लोहनाकी सुमित्रादेवी सदालाई उपसभामुख ठाकुरले सम्मान गर्नुभएको हो ।

प्रतिष्ठानका अध्यक्ष तथा अभियन्ता कोविदशरण उपाध्यायका अनुसार विगत दुई वर्षमा मधेश प्रदेशका रौतहट, धनुषा, महोत्तरी र पर्सा जिल्लाका १४ स्थानमा बोक्सी आरोपसँग सम्बन्धित घटना भएका छन् ।

ती घटनालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमै पुगेर शिक्षा, चेतना तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अभियानअन्तर्गत बोक्सीसम्बन्धी कुप्रथाविरुद्ध जनचेतना फैलाउनुका साथै बोक्सीसम्बन्धी (कसुर र सजाय) ऐन, २०७२ बारे पनि सर्वसाधारणलाई जानकारी गराइएको छ ।

आगामी दिनमा देशभर करिब दुई सय स्थानमा यस्ता कार्यक्रम विस्तार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

‘मान्छे बोक्सी हुँदैन कहिल्यै’ राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले २०७१ सालदेखि देशव्यापी रूपमा बोक्सी कुप्रथा उन्मूलन अभियान सञ्चालन गर्दै आएको छ ।

अभियानअन्तर्गत जनचेतनामूलक प्रशिक्षण, वृत्तचित्र प्रदर्शन तथा पीडितको सम्मानमार्फत समाजमा रहेको अन्धविश्वास हटाउने प्रयासलाई निरन्तरता दिइँदै आएको प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *