सर्लाही, २९ असार । असारको अन्तिम सातासम्म आइपुग्दा मधेश प्रदेशका अधिकांश खेतमा धान रोपाइँ तीव्र रूपमा भइरहेको छ ।
मधेश प्रदेशको अधिकांश क्षेत्रमा आकाशबाट पानी परेपछि किसान धान रोपाइँमा व्यस्त देखिएका छन् । तर उनीहरूको सबैभन्दा ठूलो चिन्ता मौसम वा श्रमिक अभाव होइन-रासायनिक मलको चरम अभाव छ ।
कृषिप्रधान मुलुकका अन्नदाता किसानहरू यतिबेला उत्साहभन्दा बढी आक्रोश र निराशामा छन् । उनीहरूको एउटै प्रश्न छ-‘हामी त खेतमा छौँ, मल चाहिँ कहाँ छ सरकार ?’ सरकारले गोदाममा पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि मधेशका अधिकांश किसानले खेतसम्म मल नपुगेको गुनासो गरिरहेका छन् ।
कृषि मन्त्रालयले देशभर ९२ हजार ५ सय ९२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ भने कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले पनि पटक–पटक मल अभाव नरहेको दाबी गर्दै आएकी छन् । तर सरकारी तथ्यांक र किसानको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको छ ।
मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित अधिकांश जिल्लामा किसानहरू एक बोरा मलका लागि दिनौँ लाइन बस्न बाध्य छन् ।
प्रतिनिधिसभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले मधेश प्रदेशका किसानको पीडा सुनाउँदै सरकारलाई प्रश्न गरे, ‘हामी त खेतमा छौँ, मल चाहिँ कहाँ छ सरकार ?’ उनले किसानहरूले दैनिक सांसदहरूलाई फोन गरेर मल मागिरहेको उल्लेख गर्दै भने, ‘ हामीले किसानलाई के जवाफ दिने ? कि त जवाफ सिकाइदिनुपर्यो, कि त मल दिनपर्छ ।’
उनले मल अभावले किसान निराश र आक्रोशित बनेको भन्दै तत्काल वितरण व्यवस्थापन गर्न सरकारसंग माग गरे । रास्वपाकी सांसद करिश्मा कठरियाले पनि संसदमा मधेशका किसानको अवस्था उल्लेख गर्दै भनिन्, ‘तराईका जिल्लामा मलको हाहाकार यति बढेको छ कि ज्वरो आउँदा सिटामोलभन्दा पहिले मल चाहियो भन्दै किसान रुन बाध्य छन् ।’
उनले किसानको पीडा सुन्दा पनि सरकारले गोदाममा मल भएको दाबी गर्नु किसानको आँशुमाथिको राजनीति भएको टिप्पणी गरिन् । सप्तरीको राजविराज–१० का किसान श्यामप्रसाद यादवका अनुसार एउटा सहकारीमा जम्मा १५० बोरा मल आएको थियो, जुन स्थानीय मागको एक प्रतिशत पनि होइन ।
मधेशका अन्य जिल्लामा पनि अवस्था उस्तै छ । धेरै किसान रासायनिक मल नपाएर धान रोप्न बाध्य छन् भने कतिपयले भारतबाट महँगो मूल्यमा मल ल्याउने प्रयास गरिरहेका छन् । कृषि विभागका अनुसार असार २६ गतेसम्म मधेश प्रदेशमा जम्मा ३२.८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ ।
यो सातै प्रदेशमध्ये दोस्रो सबैभन्दा कम प्रगति छ । मल अभाव, उन्नत बिउको कमी तथा सिँचाइ समस्याले रोपाइँको गति प्रभावित भएको कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।
सरकारसंग मौज्दात रहेको र बाटोमा रहेको मल जोड्दा पनि बर्खे धानका लागि आवश्यक पर्ने कुल मलको एकतिहाइ मात्रै पुग्ने अवस्था रहेको कृषि क्षेत्रका जानकारहरूको भनाइ छ ।
बर्खे धानका लागि नेपाललाई करिब २ लाख मेट्रिक टन युरिया, १ लाख ५० हजार मेट्रिक टन डीएपी र १५ हजार मेट्रिक टन पोटास आवश्यक पर्छ । तर मौज्दात रहेको भनिएको परिमाणले त्यो आवश्यकता पूरा गर्न सक्दैन ।
यही कारणले किसान र सांसदहरूले सरकारको ‘पर्याप्त मल’ भन्ने दाबीमाथि प्रश्न उठाइरहेका छन् । मल अभावसंगै खरिद प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठेको छ ।
एउटै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताले भारतलाई कम मूल्यमा र नेपाललाई झन्डै दोब्बर मूल्यमा मल उपलब्ध गराएको विषय संसदमा समेत उठाइएको छ ।
सांसदहरूले कर्मचारी, व्यापारी र बिचौलियाबीच मिलेमतो भएको आशंका व्यक्त गर्दै खरिद प्रक्रिया छानबिन गर्न माग गरेका छन् ।
नेपालको कुल खेतीयोग्य क्षेत्रफलमध्ये ५४ प्रतिशतमा धान खेती हुने गर्छ। कृषि कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत छ ।
मधेश देशको प्रमुख अन्न उत्पादन क्षेत्र भएकाले यही प्रदेशमा मल अभाव कायम रहे यस वर्ष धान उत्पादनमा ठूलो गिरावट आउन सक्ने कृषि क्षेत्रका विज्ञहरूको चेतावनी छ ।
