सर्लाही, ०५ भदाै । जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चर्किएको आन्दोलन पीडित परिवारलाई उचित राहत र रोजगारीको व्यवस्था गर्न पहल गर्ने सहमतिपछि तत्कालका लागि स्थगित भएको छ ।
पीडित परिवार र प्रशासनबीच पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा भएको लामो छलफलपछि पाँच बुँदे सहमति भएको हो ।
सहमतिको पहिलो बुँदामा पीडित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तहको समेत सहभागितामा नेपाल सरकारको गृह मन्त्रालयसमक्ष सिफारिस गरी आवश्यक पहल गर्ने उल्लेख छ ।
गरिमा चौधरीको परिवारलाई राहत र रोजगारी उपलब्ध गराउने विषयलाई प्राथमिकताका साथ अघि बढाउने सहमति भएपछि आन्दोलनरत पक्षले आफ्ना विरोधका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।
त्यस्तै, घटनाको अनुसन्धानका क्रममा अन्य व्यक्तिको समेत संलग्नता पुष्टि भए उनीहरूमाथि कानुनबमोजिम कडा कारबाही गर्ने सहमति भएको छ ।
जिल्लाको वर्तमान तथा भविष्यका सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी नागरिकलाई भरपर्दो सुरक्षा वातावरण प्रदान गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिने सहमति पनि भएको छ ।
इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत रहँदा कार्यसम्पादनमा लापरबाही गरेको देखिएका सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गर्ने मागसमेत पूरा भएको जनाइएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारीले वार्ताबाट पाँच बुँदे सहमति भएको पुष्टि गर्दै सहमतिअनुसार माग सम्बोधन हुने सुनिश्चितता भएपछि आन्दोलन स्थगित गरिएको बताए ।
भाद्र २ गते भएको ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर पीडित परिवार, आफन्त, स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिले चरणबद्ध आन्दोलन गर्दै आएका थिए ।
