सर्लाही, ०७ भदाै । जनकपुरका धार्मिक एवं ऐतिहासिक पोखरी अतिक्रमण गरी बनाइएका ६५ वटा घर–टहरा भत्काइएको छ । गुठी संस्थानको संयोजकत्वमा नेपाल सरकारले गठन गरेको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका घर–टहरा शनिबार बिहानैदेखि डोजर चलाएर भत्काएको हो । 

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार जनकपुरका सात वटा पोखरीमा गरिएको अतिक्रमण हटाइएको छ ।

जनकपुरका दशरथ, रत्नसागर, गोड्दैलगायत पोखरीको डिल अतिक्रमण गरी बनाइएका संरचना भत्काइएको हो । सात वटा पोखरी अतिक्रमण गर्दै बनाइएको पाँचतले घरसहित तीन वटा टहरा, पसल, होटल र पक्की तथा कच्ची घरहरू भत्काइएको उनले जानकारी दिए । 

गुठी संस्थानको नेतृत्वमा बनाइएको समितिले जनकपुरका पोखरी अतिक्रमण गरी बनाइएका संरचना हटाउन सूचना जारी गरेको थियो ।

समितिको सूचना अटेर गर्दै पोखरी अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन तयार नभएपछि त्यस्ता संरचना हटाउन शुक्रबार जनकपुर क्षेत्रमा माइकिङ गरिएको थियो ।

शनिबार बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मीसहित डोजर लिएर सरकारी अधिकारी पुगेका थिए । अतिक्रमित संरचना हटाउन यसअघि नै सीमांकन र रेखांकन गरिएको थियो । 

गुठी जग्गाको संरक्षण तथा अतिक्रमण हटाउने कार्यान्वयन समितिका सदस्य–सचिव जनक पोखरेलका अनुसार जनकपुरका ४९ वटा पोखरीमा अतिक्रमण गरी बनाइएका घर–टहरा क्रमशः भत्काइनेछ ।

पोखरेलले जनकपुरका अतिक्रमित अन्य पोखरीको पनि सीमांकन र रेखांकनको काम भइरहेको बताए । उनले जनकपुरका अतिक्रमित सबै पोखरी क्रमशः खाली गराइने जानकारी दिए । 

अतिक्रमित संरचना तथा जग्गा खाली गर्न गत १ साउनमै सूचना जारी गरिएको थियो । सूचनापछि पनि नहटाइएका संरचनालाई हटाउने प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।

समितिका अनुसार पहिलो चरणमा पोखरीलाई अतिक्रमणमुक्त बनाइनेछ । कार्ययोजनाअनुसार पहिलो चरणमा पोखरी, दोस्रो चरणमा मन्दिर परिसर र त्यसपछि अन्य गुठी जग्गामा रहेको अतिक्रमण हटाइनेछ । 

जनकपुरको गुठी जग्गामा भएको अतिक्रमण पहिचानका लागि २०६२ सालमा भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले तयार पारेको प्रतिवेदनलाई अभियानको मुख्य आधार बनाइएको छ ।

सोही प्रतिवेदनका आधारमा अतिक्रमित क्षेत्र पहिचान गरी चरणबद्ध रूपमा खाली गराउने काम अघि बढाइएको समितिले जनाएको छ ।

गत माघमा चुनावी अभियानका क्रममा वालेन्द्र शाहले जनकपुरको चुनावी सभामा यहाँका सम्पदाहरू जोगाउने काम गरिने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *